लुम्बिनी घुम्न आउन राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान
लुम्बिनी। राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वकै सांस्कृतिक पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्ने बताएकी छिन् । शनिबार लुम्बिनी भ्रमण वर्ष शुभारम्भ गर्दै राष्ट्रपतिले बुद्ध परिपथ अथवा चक्रपथ निर्माण गरेर विश्वकै सांस्कृतिक पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्ने धारणा राखेकी हुन् ।
शान्ति विकास र समृद्धिको आधार भएको बताउँदै बुद्धले दिएको शिक्षालाई प्रसार–प्रसार गर्नुपर्ने उनको भनाइ थियो । लुम्बिनीको विकासका लागि ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता, लुम्बिनी विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापना, हरियाली र जैविक विविधताको प्रवर्द्धन, मौलिक कला र संस्कृतिको संरक्षणलगायत विषयमा राष्ट्रपतिले जोड दिइन् ।
उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरिन् । लुम्बिनीको विकासले प्रदेश–५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न आवश्यकता रहेको बताइन् ।
बुद्ध सर्किट निर्माणमा सरकारको ध्यान : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले नेपालमा अन्तर्राष्ट्रिय बुद्धिस्ट सेमिनार आयोजना गर्ने घोषणा गरे । उनले अन्तर्राष्ट्रिय बुद्धिस्ट दिवसका अवसर पारेर २०२० अथवा २०२१ मा अन्तर्राष्ट्रिय बुद्धिस्ट सेमिनार नेपालमा आयोजना गर्न आफूले पहल गर्ने बताए । लुम्बिनीसँगै बुद्ध सम्पदासँग जोडिएका स्थलको विकास गरेर बुद्ध सर्किटको निर्माणमा सरकारले ध्यान दिएको प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दैे उनले अन्य बुद्धस्थलको समेत उत्खनन र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
पर्यटनमन्त्री लीला गिरीले प्रदेश सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए ।
२०७६ जेठ ५ गते आइतवार १४:५६ बजे प्रकाशित