"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सावधान ! काठमाडौं अस्पतालको सय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

काठमाडौँ । के तपाईं काठमाडौँका अस्पतालभित्र या अस्पताल बाहिर सुर्तीजन्य पदार्थको प्रयोग वा बेचबिखन त गरिरहनु भएको छैन सावधान ! यदि यस्तो हो भने अब भने तपाई प्रहरीको फन्दामा पर्नु हुन्छ । ऐनमा भएको व्यवस्थाअनुसार काठमाडौँको ठूला ११ सरकारी अस्पतालमा आइतबारदेखि सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा रोक लगाइएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरे पनि व्यावहारिक रुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला ११ अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गरिएको हो । निजामती कर्मचारी अस्पतालबाट उक्त कार्यक्रम शुभारम्भ गरिएको परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल र तिलगङ्गा आँखा अस्पताल र कीर्तिपुर अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको हो । अस्पतालको सय मिटरसम्मै सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नसमेत नपाइने प्रहरीले जनाएको छ ।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिकहितको अभिवृद्धि गर्न विसं २०६८ मा सरकारले ऐन ल्याएको थियो ।

धूमपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक पटक धूमपान वा सुर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा सय रूपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गर्न लागिएको जानकारी दिँदै सुवेदीले पहिलो चरणमा प्रचारप्रसार गर्ने र अटेर गरे कारवाहीको दायरामा ल्याइने बताए ।

सार्वजनिक स्थान, सरकारी कार्यालय, अस्पताल उद्योग, कलकारखाना, शिक्षण सङ्घसंस्था, विमानस्थल, होटल, सिनेमा घरलगायत क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन । अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्रसमेत धूमपान गर्न नहुने ऐनमा उल्लेख छ । प्रयोगकर्तालाई मात्रै नभई समाजलाई नै असर पार्ने भएकाले सुर्तीजन्य पदार्थ ९नियन्त्रण तथा नियमन० ऐन २०६८ ऐन कार्यान्वयनका लागि अभियान नै सञ्चालन गर्न लागिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

ऐन कार्यान्वयनका लागि अस्पताल, समुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था, सञ्चारमाध्याम, नागरिक समूहसँग समन्वय गरी हरके अस्पतालमा एक समिति बनाइएको छ । पहिलो चरणमा प्रचारप्रसारलाई तीब्रता दिने, सूचना टाँस गर्ने, अस्पताल नजिक रहेका होटलमा सुर्तीजन्य पदार्थ हटाउन लगाउने र त्यसपछि पनि बिक्री वितरण र प्रयोग गरेको पाइएमा कारवाहीको प्रक्रिया अगाडि बढाउनेछ ।

रासस

२०७६ वैशाख ३० गते सोमवार १५:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु