सभामुख महरा इतिहासकै कमजोर सभामुख भएको देउवाको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिएका छन् ।
कांग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर सो काम गर्न नसकेको दाबी गरे । नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको देउवाको भनाई छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि कांग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।
देउवाले आफ्नो पार्टीको सो माग अनुसार सो गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश पनि व्यक्त गरे । ‘धेरै सभामुख भए,’ बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरे ।’
देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि सचेत गराएका छन् । कम्युनिस्ट शासन आएकाले राष्ट्रपति बेलायती महारानीको शैलीमा प्रस्तुत भएको सभापति देउवाको आरोप छ । उनले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको दाबी गरे ।
२०७६ वैशाख २५ गते बुधवार १८:५८ बजे प्रकाशित