वालुवाटार सरकारी जग्गा अतिक्रमण नगरेको प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् ।
विरोधीले पार्टी र सरकारलाई बदनाम गर्न वालुवाटार जग्गा प्रकरणलाई उचाल्ने काम गरेको ओलीको दाबी छ ।
‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई लान्छना लगाइएको छ, त्यो जग्गा राजाको शाससनकालमा पौडेलले किन्नु भएको हो’ बैठकमा ओलीले भने, ‘कोही व्यक्तिबाट अरुले सरह उहाँले जग्गा किन्नु भएको हो । कुनै सरकारी जग्गा हडपेको पनि होइन ।’
ओलीले जग्गा किन्दाको समयमा पौडेल कुनै लाभको पदमा नरहेको पनि स्पष्ट पारे । ‘उहाँले किन्नु भन्दा पहिला कसरी अरु व्यक्तिले किने भन्ने कुरा पहिलाको सरकारले जान्ने कुरा हो, उनले भने, ‘उहाँ त्यतिबेला पार्टीको कुनै पदमा पनि हुनुहुन्थेन । त्यसकारण सत्ता र पदको दुरुपयोग गरेर जग्गा किनेको पनि होइन ।’
प्रधानमन्त्री ओलीले सरकारले असल नियतका साथ काम गरेको भन्दै देशैभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने पनि बताए ।
‘सरकार असल नियतका साथ काम गरेको छ । वालुवाटार मात्र होइन, अब देशैभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याइन्छ । यसो गर्दा कसैलाई फाइदा र नोक्सान के हुन्छ भनेर हेरिँदैन’, ओलीको भनाई थियो ।
वाइवडी प्रकरणमा अनियमितता भएको पाइए जोसुकै भएपनि कारवाही गरिने प्रधानमन्त्री ओलीले बताए ।
‘भ्रष्टाचार आफू पनि गर्दिन र गर्नेलाई पनि छोडिदैन । गरेकालाई कारवाही भैरहेको छ’ ओलीले भने, ‘वाइडवडीको सत्यतथ्य आएपछि अनियमितता भएको रहेछ भने छानविन गरेर जो सुकै भएपनि कारवाही गरिन्छ ।’
त्यस्तै प्रधानमन्त्री ओलीले यो वर्ष कृषिमा उत्पादन बढेको पनि बैठकमा बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘कृषिमा उत्पादन बढेको छ । यो वर्ष आलु उत्पादन ९ प्रतिशतले बढेको छ । धान, मकै र गहुँ उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ ।’
प्रधानमन्त्रीले यो वर्ष २३ लाख फलफूलका विरुवा रोप्ने देखि बृद्धभत्ता बढाउने आश्वासन पनि सांसदहरुलाई दिएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले प्रिबजेटको बारेमा सामान्य जानकारी गराएको सांसद देवेन्द्र पौडेलले बताए । सांसद पौडेलका अनुसार प्रधानमन्त्री र सांसदहरुबीच दोहोरो छलफल गर्ने उद्देश्यका साथ आगामी वैशाख २१ अर्को बैठक बस्ने भएको छ ।
२०७६ वैशाख १७ गते मंगलवार १९:१० बजे प्रकाशित