"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन्।

प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औं वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्न सके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए।

‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौं, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्दछौं’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले पासाङ ल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन। असम्भवलाई सम्भव बनाउन सक्दछौं, देशलाई विकसित गर्न सक्छौं।’

प्रधानमन्त्री ओलीले पासाङ ल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङ ल्हामुले पुष्टि गरेको बताए।

‘नेपालको पर्वतारोहणको गौरवपूर्ण इतिहास रहेको र यस पटक सगरमाथाको पुनः उचाइ मापनको काम अघि बढाइएकाले यसको वास्तविक उचाइ पत्ता लाग्ने छ’, उनले भने, ‘सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न भिन्नता देखा परेका छन्। तीनलाई कुनै विवाद नहुने गरी सोको टुंगो लगाइनेछ। नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइनेछ।’

प्रधानमन्त्री ओलीले पासाङ ल्हामु सबैको प्रेरणा र आदरणीय व्यक्तित्व भएकाले उनको स्मरणलाई अर्थपूर्ण र सम्मानजनक ढंगले स्थापित गर्न पासाङ ल्हामु स्मारक निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै स्मारकका लागि उपयुक्तस्थलको खोजी गर्न प्रतिष्ठानलाई आग्रह गरे।

उनले पासाङ ल्हामुको स्मृति र योगदानलाई कदर गर्दै मुलुकको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानकै परिवारका महत्वपूर्ण सदस्य पर्यटन व्यवसायी स्व आङछिरिङ शेर्पा, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको निधनप्रति दुःख व्यक्त गर्दै उनीहरूको परिवारजनप्रति सरकार र प्रतिष्ठानले गर्नसक्ने काम गर्ने प्रतिवद्धता जनाए।

पासाङ ल्हामु स्मारकस्थल चुच्चेपाटी, बौद्धमा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले पासाङ ल्हामु शेर्पा मेमोरियल कलेजका उत्कृष्ट विद्यार्थी ममता बराल, रञ्जना गौतम, सोभिता गौतम, विकास अधिकारीलगायतलाई नगदसहित पुरस्कृत गरेका थिए।

-रासस

२०७६ वैशाख १० गते मंगलवार १६:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु