ललिता निवासको जग्गामा जोसुकै मुछिएको भएपनि कारबाही गरेरै छाड्ने मन्त्रीको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ललिता निवासको जग्गाका सम्बन्धमा कुनै पद तथा ओहादाले छानविन प्रक्रिया नरोकिने बताएका छन् । जग्गामा जोसुकै मुछिएको भएपनि कारबाही गरेरै छाड्ने दाबी गरे । सरकारले आफ्नो काम गरी सकेको छ ,जग्गा रोक्का राखिसकेको छ,’ उनले भने,‘ आवश्यक कारबाही हुन्छ । सरकारी सम्पत्तिको रक्षा सरकारले गर्छ ।’
उनले कुनै पनि आरोप वा व्यंग्य गरिरहे पनि जनताको हितमा सबै अपमान सहेर भएपनि काम गर्न तत्पर रहेको बताए। ‘अनुहार हेरेपछि चिनेको पर्ला, नाता, कुटुम्ब पर्ला,’ उनले भने, ‘ यही ३ करोड नेपाली भित्रको कुरा हो। कोही न कोही हामी सबैको दाजुभाई दिदीबैनी नै हो। त्यसबाट प्रभावित नहुने कुरा प्रधानमन्त्रीले पटकपटक सञ्चार माध्यम मार्फत बताइरहनु भएको छ, यस्तै समस्या कहाँकहाँ छ, यसमा तपाईंहरुको पनि हामी सहयोग चाहन्छौं।’ उनले भ्रष्टाचार र तस्करी कुनै पनि अपराधमा सरकारी सम्पत्तिको दुरुपयोग भए सहनशील भएर बस्न नसक्ने बताए।
‘३३ किलो सुनको कुरा निकै भयो, विगतमा ३८ किलो सुन नै बेपत्ता भएको रैछ,’ उनले भने, ‘हामी यसको सबै नेक्सस नै ध्वस्त बनाउने अभियानमा छौं।’ उनले पोखराका पत्रकार अर्जुन गिरीको सम्बन्धमा गम्भीर रहेको बताए। ‘अनाहकमा कोही पनि पक्राउ पर्नु राम्रो होइन, पत्रकार महासंघले छानविन गर्न माग गरेको छ, हामीले घट्ना कसरी भएको छ भनेर मन्त्रालयले तत्कालै कुनै ठोस कदम चाल्ने छ,’ उनले भने।
उनले साना लगानीका मिडियाबारेमा बारम्बार कुरा उठ्ने गरेको बताए। ‘कानुनमा त्यस्तो ठोस व्यवस्था छैन, कति जना कार्यरत वा कति लगानी भएकोलाई साना वा ठूला स्वरोजगार, कर्पोरेट वा उद्योगको रुपमा परिभाषित गर्ने भन्ने कुरा निम्ति कानुन नै बनाउँदै छौं,’ उनले भने, ‘त्यसअघि सम्म ५ जनासम्म सञ्चारकर्मी कार्यरत रहेका सञ्चार गृहको हकमा निवेदन बुझ्न र यसको आवश्यक कानुनी प्रबन्ध मिलाउने तयारीमा छौं।’ २ वटा मापदण्ड बनाउँदा तजबिजी आधारमा नहुने उनले बातए। ‘कानुनकै हिसावले जानु पर्छ,’ उनले भने, ‘व्यक्तिमा निर्भर हुनु हुँदैन, कानुन, विधि नीतिले नै यसलाई दृष्टित गर्नुपर्छ।’
–कान्तिपुरबाट
२०७६ वैशाख ५ गते बिहीवार १९:५४ बजे प्रकाशित