प्रमुख निर्वाचन आयुक्तमा थपलिया अनुमोदित
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन् । संवैधानिक परिषद् सिफारिस भएका थपलियाको बुधबार सुनुवाई भएको थियो । राष्ट्रिय समावेशी आयोगमा सिफारिस विष्णुमाया ओझा पनि अनुमोदित भएकी छन् ।
थपलियाले सुनुवाई समितिमा आफू प्रमुख आयुक्त बनेपछि निर्वाचन आयोग र निर्वाचन प्रणाली सुधारका लागि गर्ने कामहरुको प्रस्तुती गरेका थिए । उनले स्वच्छ निर्वाचन गराउने, विदेशमा रहेकाहरुको पनि मतदात सुरक्षित गराउने, चुनावी प्रणालीलाई अझै आधुनिकीकरण गराउने लगायतका प्रतिबद्धता जनाएका थिए ।
जुनसुकै बेला चुनाव गराउनका लागि आयोगलाई चुस्त दुरुस्त राख्ने र उपचुनावहरु तीन महिना भित्र गराउने प्रतिबद्धता थपलियाले गरेका थिए । उनीविरुद्ध कर्मचारी समायोजनमा विभेद गरेको संघीयताको मर्म अनुसार काम नगरेको लगायतका आरोपसहितका उजुरी परेका थिए । ती उजुरीहरुको उनले बचाउ गरे । आफूले सरकार दिएको निर्देशन र कानूनको पालना गरेर नै काम गरेको दाबी गरे ।
२०७६ वैशाख ४ गते बुधवार १८:२३ बजे प्रकाशित