कांग्रेसले तीन चरणको राष्ट्रिय जागरण अभियान घोषणा

काठमाडौं । कांग्रेसले तीन चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यलय सानेपामा आयोजित कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले सो घोषणा गरेका हुन् ।
‘हिमाल, पहाड, तराई, मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत पहिलो चरणको अभियान ७७ जिल्लामा गरिने भएको छ । बैशाख ११ देखि जेठ ११ सम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिको उपस्थिती रहने छ । यो चरणको अभियान काठमाडौंदेखि सभापति शेरबहादुर देउवाले औपचारिक रुपमा सुरुवात गर्नेछन् ।
दोस्रो चरणमको अभियान भदौ २४ देखि असोज ७ सम्म प्रादेशीय निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ । यो अभियानमा पनि केन्द्रीय प्रतिनिधिहरुको उपस्थिती रहनेछ । त्यस्तै पुष ७ गतेदेखि १६ गतेसम्म तेस्रो चरणको अभियान सञ्चालन गरिने भएको छ । यो अभियान ७५३ स्थानीय तहमा हुनेछ ।
कांग्रेस नेता विमलेन्द्र निधि, विजयकुमार गच्छदार, शंसाक कोइराला, सीतादेवी यादव र प्रकाशशरण महतको उपस्थितीमा प्रवक्ता शर्माले तीन चरणको अभियान घोषणा गरेका हुन् ।
सरकारले संघीय शासनपद्धती अनुसार देश चलाउन नसकेको कुरा तल्लो स्तरसम्म बुझाउनपर्ने आवश्यकता देखिएकाले अभियान सुरु गरिएको उपसभापति विमलेन्द्र निधिले बताए । संघीयता कार्यान्वयनमा र प्रदेश अधिकार बाँडफाँडमा सरकार असफल देखिएकोले सो अभियान मार्फत बुझाउन लागिएको उनले बताए ।
यस्तो छ अभियानको उद्धेश्य
पार्टीको संशोधित विधानबारे तल्लो तहसम्म जानकारी गराउने, विगतमा कांग्रेसको प्रयासमा भएका र अरु राजनीतिक योगदान बारे तल्लो तहसम्म सम्प्रेषण गर्ने,
बलात्कार, हिंसा, दण्डहीनतामा सरकारको खबरदारी गर्ने,
संविधान शंसोधन गर्नुपर्ने विषयमा आएका फरक मतलाई तल्लो तहसम्म बुझाउन र नेता कार्यकर्ताबीच सम्बन्ध विस्तार गर्ने,
सरकार प्रभावकारी भएको छैन, काम कारवाही भ्रष्टचारलाई मुछिएको छ भनेर नागरिक तहमा सुसिचित गराउने,
कुटनीतिक क्षेत्रमा परेको नकारात्मक असरबारे बुझाउन र तीनै तहका सरकारले कसरी काम गरिराखेका छन् भन्ने विषयमा छलफल गर्ने ।
२०७६ वैशाख ४ गते बुधवार १२:१५ बजे प्रकाशित