चिनी व्यापारीले सरकारलाई झुक्याएर ठगी गरेको भनि प्रधानमन्त्री असन्तुष्टि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले सरकारलाई झुक्याएर ठगी गरेको बताएका छन् । स्वदेशी चिनी उद्योग प्रवर्द्धनको नाममा उनैको जोडबलले वार्षिक १ लाख मेट्रिक टनभन्दा बढी चिनी आयात गर्न नपाइने निर्णय गरिदिएको करिब ८ महिनापछि ओलीले असन्तुष्टि पोखेका हुन् ।
नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै चिनी उद्योगीहरूको प्रसंग उप्काउँदै उनले भने, ‘उहाँहरूले अर्को साल पनि चिनी बेचिनसक्ने गरी चिनी स्टक भयो, पाकिस्तानको आयात रोकिदिनुपर्यो भन्नुभयो । होला त नि भनेर मैले आयात रोकिदिएँ । भोलिपल्टदेखि बजारमाचिनी छैन ।’
प्रधानमन्त्री ओलीका अनुसार व्यवसायीले थन्किएको चिनी बजार मूल्यभन्दा कममा बेच्न बाध्य भएको उनलाई बताएका थिए । बजार मूल्य ६३ रुपैयाँ भए पनि ५३र५४ रुपैयाँमा बेचिरहेको भन्दै आयात रोकिदिन व्यवसायीले आग्रह गरेको उनले खुलासा गरे । ‘पछि त उहाँहरूले ८५ रुपैयाँमा बेच्न थाल्नुभयो,’ उनले भने, ‘त्यो पनि नपाएर १ सय ५ रुपैयाँमा किन्न बाध्य बनाए ।’ गएको दसैंअघिको कुरा निकालेर उनले यस्ता ठगी क्रियाकलाप बन्द गर्न आदेश दिएका थिए । ‘यस्तो व्यापार व्यापार होइन,’ उनले भने, ‘सच्चा व्यापारलाई सरकारको पूर्ण सहयोग छ ।’
आयात बढी भएको र स्वदेशी उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्दै यहाँका उद्योगीले आयात रोकिदिन ‘लबिइङ’ गरेका थिए । प्रधानमन्त्रीले उद्योगीको गुनासोपछि ठाडो आदेश दिई अर्थ तथा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीलाई परिमाणात्मक बन्देजको निर्णय प्रक्रिया अघि बढाउन आदेश दिएका थिए । प्रधानमन्त्रीको आदेश अनुसार मन्त्री मातृका यादबले परिमाणत्मक बन्देजको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरे ।
स्वदेशी उद्योगलाई संरक्षणका नाममा भदौ ३१ को मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय भयो । निर्णय लगत्तै यहाँका उद्योगी व्यवसायीले ह्वात्तै मूल्य बढाए । गत वैशाखरजेठमा प्रतिकिलो ६३ रुपैयाँ पर्ने चिनी अहिले ८५ रुपैयाँभन्दा बढी पर्छ । यसबारे गत असोज १४ गते लेखा समितिले छलफल सुरु गरेको थियो ।
छलफलमा सांसदहरूले चिनीको परिमाणात्मक बन्देज लगाउने निर्णयमा सरकारी अधिकारीहरूले १ अर्ब६९ करोड रुपैयाँको आर्थिक चलखेल भएको आरोप लगाएका थिए । यसबारे अध्ययन गर्न पूर्वमन्त्री लेखराज भट्टको संयोजकत्वमा अध्ययन गर्न उपसमिति गठन भयो । उपसमिति गठन गर्नेदेखि प्रतिवेदन बुझाउने काम जुन गतिमा भयो, त्यही गतिमा कार्यान्वयन भने भएन ।
चाडबाड सकिएपछि चिनीको परिमाणात्मक बन्देजमा आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशनसमेत दिएको थियो । चिनीबारे धेरै बैठक भए पनि मूल्य भने घटेको छैन । हाल स्वदेशी उद्योगीले महँगोमा चिनी बिक्री गरिरहेका छन् ।
२०७५ चैत २६ गते मंगलवार १३:१४ बजे प्रकाशित