कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा
कर्णाली । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका हुन् ।
नागरिकको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न तथा स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२(७३ देखि कार्यक्रम सञ्चालन गरेको हो । कर्णालीमा भने आर्थिक वर्ष २०७३(७४ असार १ गतेदेखि जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको थियो ।
हाल यहाँका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम र कालीकोटमा कार्यक्रम सञ्चालनमा छन् । स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले हालसम्म ३५ हजार ५१९ ले सेवा लिएको जानकारी दिए। उनका अनुसार बिमितलाई सेवा दिएवापत सेवाप्रदायकलाई चार करोड ४० लाख ५६ हजार ७३८ भुक्तानी भइसकेको छ ।
झण्डै एक लाख बिमितबाट रु चार करोड ७८ लाख ६६ हजार ३२० योगदान रकम सङ्कलन भएको बताइएको छ । बिमितमध्ये अति गरिब परिवारको सङ्ख्या २५ हजार ५५४ रहेको छ ।
कतिपय जिल्लामा सेवाप्रदायक संस्था न्यून छन् संयोजक पण्डितले भने, ुती स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा उपलब्ध गराउन कठिनाइ भइरहेको छ । चालू आर्थिक वर्षमै हुम्ला, डोल्पा, मुगु र दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बीमा बोर्डको तयारी छ ।
स्वास्थ्य बीमासम्बन्धी प्रदेशस्तरीय कार्यशालालाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारिताका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै नागरिकलाई अनिवार्य बिमित हुन आकर्षित गरिनेछु उनले भने।
– रासस
२०७५ फागुन १९ गते आइतवार १८:२८ बजे प्रकाशित