"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कर्जाको ब्याजदर घटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याजदर घटाउन अर्थमन्त्री डा। युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालललाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उद्योगी व्यवसायीसमेतको उपस्थितिमा शनिबार भएको छलफलमा उनले अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले उत्पादनमूलक, बढी रोजगारी सिर्जना गर्ने र निर्यातमूलक उद्योगको कर्जामा ब्याज घटाउन निर्देशन दिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

‘हामी उद्योग व्यवसायीले क्रेडिट क्रन्च र उच्च ब्याजदरको समस्याका बारेमा यसअघि गभर्नर र अर्थमन्त्रीलाई अवगत गराएका थियौँ, आज प्रधानमन्त्रीलाई जानकारी गरायौँ,’ उनले भनिन्, ‘हाम्रो समस्या तथा सुझाब सुनेपछि प्रधानमन्त्रीले उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाका ब्याज घटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिनुभएको हो ।’

छलफलमा प्रधानमन्त्रीले बैंकले उच्च नाफा आर्जन गर्ने, तर उद्योग व्यवसाय उच्च ब्याजको थिचोमा पर्ने प्रवृत्ति ठीक नभएको बताए । ‘उद्योग व्यवसाय नै चलेन भने बैंक कसरी चल्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृद गर्दै उनले भनिन्, ‘त्यसैले उच्च ब्याजको समस्या बुझेर समाधान गर्नुपर्छ, बैंकहरूले पनि ब्याजदर घटाउनुपर्छ ।’

सोमबार बैठक डाकियो
विशेषगरी विराटनगर, भैरहवा र वीरगन्जका व्यवसायीको रहोवरमा सो छलफल आयोजना भएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । ‘प्रधानमन्त्रीले विराटनगरका उद्योगीले आन्दोलन थालेपछि आकर्षण भएको सुनाउनुभयो,’ सारडाले भने, ‘त्यसपछि उद्योगी र कृषकको ब्याजदर घटाउन निर्देशन दिनुभयो ।’ प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरलाई तीन दिनको अल्टिमेटम दिएर तोकिएको सीमाभित्र समस्या समाधानको पहल नथाले आफैँले हस्तक्षेप गर्ने बताएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री डा। खतिवडाले उद्योगी व्यवसायीलाई छलफल गर्न आगामी सोमबार अर्थमन्त्रालयमा बोलाएका छन् । छलफलमा उद्योगमन्त्री मातृकाप्रसाद यादव, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा तथा विराटनगर, वीरगन्ज र भैरहवाका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

निजी क्षेत्रले किन प्रधानमन्त्री गुहार्‍यो रु
खुला बजार अर्थतन्त्रको पक्षमा लबिङ गर्ने उद्योग वाणिज्य महासंघले ब्याजदरमा हस्तक्षेप गर्न सरकारलाई खुलेआम आग्रह गर्दै आएको छ । यसअघि गभर्नर र अर्थमन्त्रीलाई भेटेर ब्याजदरमा हस्तक्षेप गर्न आग्रह गरेको महासंघलगायतको टोलीले शनिबार प्रधानमन्त्रीलाई भेटेको हो ।

ब्याजदर घटाउन प्रधानमन्त्री नै किन गुहार्नु परेको भन्ने नयाँ पत्रिकाको प्रश्नको जवाफमा महासंघ अध्यक्ष भवानी राणाले भनिन्, ‘उच्च ब्याजका कारण उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको छ, लागत बढेको छ, जिल्लाका साथीहरूसमेत आन्दोलित हुनुभएको छ, हामीले यसअघि गभर्नर र अर्थमन्त्रीलाई समस्याको अवगत गराएका थियौँ, त्यसैलाई निरन्तरता दिँदै आज प्रधानमन्त्रीलाई भेटेका हौँ ।’ यसअघि अर्थमन्त्रालयले वित्तीय र पुँजीबजारका समस्या समाधान गर्न समिति नै गठन गरेको थियो । डेपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षतामा गठित कार्यदलले सुझाबसहितको प्रतिवेदन बुझाएको थियो । तर, त्यसपछि पनि समस्या समाधान हुन सकेको छैन ।

२०७५ फागुन ५ गते आइतवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु