"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बूढानीलकण्ठ बैठकमा भागबण्डा नमिलेपछि काँग्रेसमा अलमल

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज विहान ११ बजेलाई बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा अनुशासन र निर्वाचन समिति गठन, पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तर बैठक बस्नेरनबस्ने अन्यौलता कायमै छ ।

फागुन १४ गते अनुशासन र निर्वाचन समिति गठन गर्ने प्रयोजकका लागि बोलाइएको बैठक वरिष्ठ नेता राचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले बहिस्ककार गर्ने चेतावनी दिएका थिए । उनीहरुले बैठक बहिस्कारको चेतावनी दिएपछि बहुमतबाट निर्णय गर्ने तयारीमा रहेका सभापति शेरबहादुर देउवाले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

बैठकमा पौडेल –सिटौला पक्षका नेताहरु नगएपछि बाध्य भएर प्रवक्ता शर्माले अनिश्चितकालका लागि बैठक स्थगित भएको बताएका थिए ।

देउवाले पौडेललाई मनाउन सकेनन्
सभापति देउवाले केन्द्रीय कार्यसमितिबाट पार्टी विधान बहुमतले पारित गरेपछि क्रुद्ध बनेका पौडल र सिटौला समूहका नेताहरु अझै ‘कुल’ बन्न सकेका छैन । काँग्रेसका प्रमुख नेताहरु एकचरण जिल्ला भ्रमण सकेर फर्केका छन् । सबै नेताहरु काठमाडौँ फर्केपछि सभापति देउवाले सहमति जुटाउन छलफललाई तीव्रता पनि दिए ।

उनले आफूनिकट नेताहरुका साथै पौडेल पक्षसँग सहमितिका लागि छलफल जारी राखेका छन् । तर, १८ दिनसम्म पनि नेताहरुबीच सहमति हुन सकेको छैन । बरु नेताहरु यसबीचमा गुटगत स्वार्थ अनकुल एकले अर्को पक्षलाई कसरी गलाउने वा थकाउने भन्नेमा केन्द्रित रहे ।

फागुन २१ र २२ गते पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल र सिटौला समूहको संयुक्त बैठकले सहमतिबेगर केन्द्रीय समिति बैठकमा नजाने निष्कर्ष निकालेको थियो । यता सभापति देउवाले फागुन ३० गते आफूनिकटका नेताहरुलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएका थिए । उनले पौडेल– सिटौलासमूहले आफूविरुद्ध तयारी पारेको रणनीति चिर्न कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका थिए ।

त्यसयता सभापति देउवाले पौडेललाई फकाउन उपभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालाई पौडेल निवास बोहोराटार धाउन लगाए । तर पनि पौडेल आस्वस्त हुन नसकेको नेताहरु बताउँछन् ।
भागबण्डा नमिल्दा विवाद कायमै
सहमतिको प्रयासस्वरुप सभापति देउवाले चैत ३ गते ९हिजो आइतबार० सहमति जुटाउने प्रयासस्वरुप पदाधिकारी र पूर्व पदाधिकारीलाई बूढानीलकण्ठ बोलाएका थिए । तर सो बैठकमा पनि सहमति जुट्न सकेन ।

सभापति देउवा सहमतिबाट निर्णय गर्न राजी भएपनि भागबण्डामा कुरा नमिलेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीको भनाई छ ।

बूढानीलकण्ठको बैठकमा पौडेल पक्षले अनुसाशन, निर्वाचन समिति मध्ये एकको नेतृत्व आफूले गर्न पाउने पर्ने दाबी गरेका थियो । साथै पौडलले आफ्ना दुई र कृष्ण सिटौला पक्षको एक जनालाई राख्नु पर्ने पनि बताएका थिए । जसमा सभापति पक्षले आफू अल्पमतमा परेर समिति गठन गर्न नसक्ने जवाफ दिएपछि सहमति हुन सकेन ।

बैठकमा पौडेलले पक्षबाट डा। रामशरण महतले नेविसंघमा तदर्थ समितिको साटो निर्वाचन समिति बनाउन माग गरेका थिए । तर देउवा पक्षले विगतदेखि नै तदर्थ समिति बनाइँदै आएको भन्दै अहिले आएर निर्वाचन समिति गठन गर्न नसकिने तर्क गरेको थियो ।

पार्टीमा सहमति नभइसकेको अवस्थामा बैठकमा सहभागि हुने कि नहुने भन्नेमै पौडेल सिटौला समूह अलमलमा रहेको बताइएको छ ।

तर, सहमतिको प्रयासस्वरुप आज बैठक बस्नुअघि नेताहरुबीच एकचरण अनौपचारिक छलफल हुने बुझिएको छ ।

२०७५ चैत ४ गते सोमवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु