नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन आज : यी बाटो प्रयोग नगर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडाैं । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार दशरथ रंगशालामा हुने विशेष कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन्। उद्घाटन कार्यक्रममा सहभागी हुन विश्वका विभिन्न देशबाट पर्यटनमन्त्री नेपाल आइसकेका छन्।
कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले स्वागत गर्ने बताइएको छ। उद्घाटनपूर्व निस्किने र्याली र राष्ट्रपतिलगायतको सवारीका कारण बुधबार काठमाडौं उपत्यकाको आवागमन प्रभावित हुने भएको छ। दिउँसोको समयमा ठमेलबाट र्यालि निस्केर रंगशालासम्म जाने भएकाले वैकल्पिक रुट प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले अनुरोध गरेको छ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ। महाशाखाले अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ। कार्यक्रममा सहभागी हुन आउने सर्वसाधारणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थलको व्यवस्था गरिएको छ।
२०७६ पुस १६ गते बुधवार ११:०४ बजे प्रकाशित