प्रधानमन्त्रीको स्वास्थ्य उपचार जारी, अर्को सातासम्ममा पूरा हुुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार जारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली आफैँले पनि आफ्नो स्वास्थ्यबारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गरेका छन् ।
सिंगापुरमा उपचार गराइरहेका ओलीले बुधबार नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गरी आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले पनि बुधबारै ट्विट गर्दै सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार प्रक्रिया जारी रहेको जानकारी दिएका थिए ।
रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा।डा दिव्यासिंह शाहले उनको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जनाए । केही दिनअघि रगतमा एन्टीवडीको मात्रा देखिएपछि मिर्गौलाको क्षमता अभिवृद्घिका लागि प्रधानमन्त्री ओली भदौ ५ गते पुनः सिंगापुर गएका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन् ।
प्रेस संयोजक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ ।
२०७६ भदौ १२ गते बिहीवार ०९:२४ बजे प्रकाशित