"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुख र खुसीको रहस्य

एक दिन एक प्राध्यापकले कक्षाकोठामा पस्नासाथ भने– आज म तपाईंहरूको परीक्षा लिँदै छु । सबैजना त्यसका लागि तयार हुनुहोस् । परीक्षाको नाम सुन्नासाथ विद्यार्थी आत्तिए । उनीहरूमध्ये कोही किताबको पाना पल्टाउन थाले त कोही नोटबुकका पानामा घोरिन थाले ।

प्राध्यापकले भने– यो सब केही काम लाग्दैन । म प्रश्नपत्र सबैसामु राखिदिन्छु । मैले भनेपछि सबैले पल्टाएर हेर्नुहोला । उनले सबैसामु प्रश्नपत्र राखिदिँदै हेर्ने अनुमति पनि दिए । प्रश्नपत्रमा केही लेखिएको थिएन । त्यसमा एउटा कालो बिन्दु मात्र देखिन्थ्यो । विद्यार्थी छक्क परे । प्राध्यापकले भने– प्रश्नपत्र यही हो, सबैले यसको व्याख्या गर्नुहोला । यसका लागि तपाईंहरूले मात्र १० मिनेटको समय पाउनुहुनेछ ।

विद्यार्थी चुपचाप उत्तर लेख्न थाले । समय सकियो । प्राध्यापकले सबै उत्तरपुस्तिका संकलन गरे । लगभग सबैले त्यही कालो बिन्दुको विषयमा आआफ्नो ढंगमा व्याख्या गरेका थिए । तर, कसैले पनि कालो बिन्दुको चारैतिर रहेको सफा भागबारे भने केही लेखेका थिएनन् ।

विद्यार्थीको उत्तरपुस्तिका हेरिसकेपछि प्राध्यापकले गम्भीर हुँदै भने– तपाईंहरूको फाइनल रिजल्टसित यस परीक्षाको कुनै लिनुदिनु छैन । यसमा म कुनै अंक पनि दिन्नँ । तर, यस परीक्षाको पछाडि एउटा खास कारण छ । म तपाईंहरूलाई जीवनको अद्भूत यथार्थ बताउन चाहन्छु ।

हेर्नुहोस्, यस प्रश्नपत्रको ९९ प्रतिशतभन्दा बढी भाग सफा र सेतो छ । तर, कसैले पनि यसबारे केही लेख्नुभएन । तपाईंहरूले त्यही एक प्रतिशतभन्दा पनि कम स्थान ओगट्ने कालो धब्बाबारे मात्र लेख्नुभयो । यही यथार्थ हाम्रो जीवनमा पनि लागू हुन्छ । हाम्रो जीवनमा आइपर्ने अनगन्ती समस्या पनि हाम्रो जीवनका निकै ससाना धब्बा हुन् । तर, हामी पूरापूर ध्यान तिनै समस्यातिर केन्द्रित गरिरहेका हुन्छौँ ।  प्राध्यापकले अगाडि भने– त्यसैले, ती ससाना समस्याबारे चिन्ता लिनुभन्दा पनि बाँकी जीवनको आनन्द उठाउने र तिनलाई गम्भीरतापूर्वक नलिने हो भने हाम्रो जीवन जहिल्यै सुख र खुसीले भरिनेछ ।

२०७६ फागुन २ गते शुक्रवार १२:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु