तिहारमा प्लाष्टिकका माला प्रयोग नगर्न आग्रह, बिक्री गर्नेलाई कारबाही

दाङ । दाङका दुई स्थानीय तहले तिहारमा प्लाष्टिकका माला प्रयोग नगर्न आग्रह गरेका छन् ।जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो।
दाङका दस स्थानीय तहमध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो । उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री बितरण तथा भण्डारण गर्न पनि नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ ।
त्यसकारण तुलसीपुर क्षेत्रमा यसपालि प्लाष्टिकजन्य मालाहरू देखिएका छैनन् । लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रुपमा फूलेका फूलका मालाहरु मात्रै भाईटिकामा प्रयोग गर्न आग्रह गरेको छ ।
स्थानीय तहले गरेकाे यो निर्णय संगै व्यवसायिक फूलखेती गर्दै आएका किसानहरु हौसिएका छन् । नेता तथा मन्त्रीहरुको आवतजावत बाक्लिन थालेपछि त्यस्ता कार्यक्रमहरुमा स्वागत सम्मानका लागि फूलकै माला प्रयोग हुने थालेको हुँदा पनि व्यवसायिक फूलखेती गर्ने किसान उत्साहित बन्न थालेका हुन् ।
जिल्लाको ग्रामिण भेगहरुमा भने घर घरमै सजावटका लागि सयपत्री लगाएत विभिन्न फूलहरु रोपिएका हुन्छन्। गाउँ घर आँफै फूल र मालामा आत्मनिर्भर रहेको तथा बजार क्षेत्रको आवश्यकता पछिल्लो समय भएका व्यवसायिक फूल खेतीले सहजै पुरा गर्ने गरेको सरोकारवालाहरु बताउँछन्।
२०८० कात्तिक १३ गते सोमवार १७:५६ बजे प्रकाशित