"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

केहि दिन देखि लगातार बर्षा, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

बैतडी । केही दिनदेखि लगातारको वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।

बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । “केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “महाकालीमा पानीको बहाव घटबढ हुने भएकाले तटीय क्षेत्रमा नजान आग्रह छ ।”

महाकालीमा दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा जल सतहले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त नदीमा आज बिहान पानीको बहाव बढेर ५८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ ।

साथै लगातार वर्षा भइरहेकाले जिल्लाका अन्य खोलामा पनि बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

२०७८ असार ४ गते शुक्रवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु