"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काेराेना महामारी नियन्त्रण गर्न जडिबुटीको प्रयोग ह्वात्तै बढ्दै, कुन कुन जडिबुटी प्रभावकारी हुन्छ ?

महोत्तरी । कोभिड–१९ महामारी नियन्त्रण गर्न महोत्तरीका गाउँ/नगर बस्तीमा जडिबुटीको प्रयोग ह्वात्तै बढेको छ ।

विशेषगरी सामाजिक सञ्जालमा कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन बेसार, अदुवा, गुर्जो, तुलसी, सिन्कौली र पारिजातजस्ता वनस्पतीय जडिबुटी निकै प्रभावकारी हुने सन्देश बाक्लै देखिन थालेपछि पछिल्लो समय यहाँ त्यस्ता जडिबुटीको प्रयोग ह्वात्तै बढेको हो । यसबाहेक कोरोना सङ्क्रमण पुष्टि भएर दुई साता होम आइसोलेशनको बसाइपछि निको भएर बाहिर आएकाहरुले पनि आफूहरु यिनै वनस्पतिको प्रयोगले कोरोना सङ्क्रमणलाई परास्त गर्न सफल भएको बताएपछि यी जडिबुटीको महत्व झनै चुलिएको छ ।

अहिले नेपाली काँग्रेसका महासमिति सदस्य तथा बर्दिवास नगरपालिका–१४ का बासिन्दा चिरिञ्जीवी हमालको बिहान एक घण्टाको दैनिकी नै घर नजिकको बगैंचामा गुर्जोको लहरा खोज्ने र सङ्कलन गर्नेमा बित्छ । तुलसी, सिन्कौली र पारिजातका पात सङ्कलन यसै अवधिमा गर्ने गरेको हमालले बताए । “घरै बस्नु त छ, कोभिड–१९ लाई निम्ता दिन लखरलखर डुल्ने कुरा भएन” उनले भने, “बिहान नित्यक्रिया सक्ने बितिक्कै पानीमा उमालिएको गुर्जोको रस एक गिलास खाएपछि घरभित्रका अन्य दैनिकीमा लाग्छौ ।”

बिहान/बेलुका गुर्जोको रस एक/एक गिलास, दिनमा तीन/चार पटक तुलसी र पारिजातका पात तथा अदुवा र बेसार हालेर पकाएको पानी खाने दैनिकी नै बनिसकेको उहाँको भनाइ छ । गत असारदेखिको आफ्नो यो दैनिकीले उच्चरक्तचाप, मधुमेह र लगातार पेट कराई रहने समस्या हराएको हमालले बताए ।

जिल्लाकै भङ्गहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले साउनको अन्तिम साता दिएको स्वाबको नतिजा पोजेटिभ आएपछि होम आइसोलेशनमा बसे । होम आइसोलेशनको बसाईका क्रममा गुर्जोको तातो झोल, तुलसी, पारिजात, बेसार, अदुवा र सख्खर मिसाएर पकाइएको तातो पानी तथा दैनिक तीन/चार पटक हरियो पत्तीको चिया खाएरै उgले १५ दिनभित्र कोभिड–१९ लाई परास्त गरेको बताए । महतोले भने, “मैले होम आइसोलेशनमा बस्दा कुनै औषधि खाइन, ढुक्क भएर आत्मबलका साथ बसे । गुर्जोको तातो झोल र तुलसी, पारिजात, बेसार, अदुवा र सख्खर मिसाएर पकाइएको तातो पानी तथा दैनिक तीन/चार पटक हरियो पत्तीको चिया खाएरै १५ दिनभित्र कोभिड–१९ लाई परास्त गंर्न सफल भए ।” भदौ दोश्रो सातामा गरिएको दोश्रो पिसिआर परीक्षणमै महतोको नतिजा नेगेटिभ आएको हो । अहिले आफ्नो घरपरिवार र भेटेजति सबैलाई घरमै बसेर यी वनस्पतीय जडिबुटी प्रयोग गर्न उनी सल्लाह दिन्छन् ।

महतोजस्तै बर्दिवास–१ का बासिन्दा तथा व्यवसायी बिनोद भण्डारी र बर्दिवास–९ पशुपतिनगरका बासिन्दा सञ्चारकर्मी ललनकुमार मण्डलको कोभिड–१९ परास्त गर्न जडिबुटी प्रयोगमा यस्तै अनुभव छ । “साउन अन्तिम साताको स्वाब परीक्षणमा पोजेटिभ नतिजा आयो, होम आइसोलेशनमा बसेर गुर्जो पानी, तुलसी, बेसार, अदुवा र सख्खर मिसाएर पकाइएको काँढा (तातोपानी) खाइयो”, व्यवसायी भण्डारीले भने, “यी जडिबुटीको नियमित प्रयोग, सन्तुलित आहारब्यवहार र भोजन, इष्टमित्रको शुभेच्छा र दह्रो आत्मबलले १५ दिनभित्रै दोश्रो परीक्षणमा नेगेटिभ नतिजा आयो ।” भण्डारीको जस्तै सञ्चारकर्मी मण्डलको पनि भनाइछ ।

जताततै यी वनस्पतिको प्रयोगबारे सकारात्मक चर्चा बढेपछि घरघरै यसको प्रयोग बढ्दो छ । पछिल्लो समय त जताततै हुर्केका रुख र झाडीहरुमा बाक्लै देखिने गुर्जोको लहरा अब सङ्कलन गरेर दुई/चार पैसा आर्जन गर्ने पनि भेटिन थालेका छन् । कोभिड–१९ सन्त्रासबीच यी वनस्पतिबारे जताततै सकारात्मक चासो बढेको छ । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञा भित्र मोवाइल चलाएर समय कटाउनेको सङ्ख्या निकै छ । यस बीचमा नेपालीको भान्सामा प्रयोग हुने मसलाहरु बेसार, अदुवा, सिन्कौलीबारे शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोगी हुने कुरा राजनीतिक क्षेत्रका उपल्लो तहबाट व्यक्त हुनु, छिमेकी मुलुक भारतका प्रतिष्ठित अस्पतालहरुले पनि यी वनस्पतिको गुणबारे लगातार सामग्री पस्कनु र कोभिड–१९ सङ्क्रमण परास्त गरेकाहरुको अनुभवले यस्ता वनस्पतिको महत्व र चासो बढाएको बर्दिवास–५ चेरुका बासिन्दा बाणिकराज काफ्लेको भनाइ छ ।

“बेसारलाई त हाम्रा शास्त्रहरुमै ‘सर्वोषधी’ भनिएको छ, अहिले खास चर्चामा रहेका अदुवा, तुलसी, सिन्कौली, पारिजात र गुर्जोसहितका सबै वनस्पति औषधीय गुणका हुन् भन्ने पहिले देखि नै स्थापित कुरा हो”, लामो समयसम्म बाली विज्ञका रुपमा सरकारी सेवा गर्नुभएका पूर्वसहसचिब काफ्लेले भने, “अहिले कोभिड–१९ सन्त्रासबीच यस्ता वनस्पति र जडिबुटीको प्रचारप्रसार तथा महत्व बढाएको छ, धेरैले यी वनस्पतिको औषधीय गुणबारे जानकारी र प्रयोग बढाएका छन् ।” सूचना र सञ्चारको व्यापकताले आफ्नै परिवेशभित्रका यी वनस्पति अब निकै महत्वका भएको काफ्लेको भनाइ छ ।

घरघरै मसलामा प्रयोग हुँदै आएका बेसार, मरिच, अदुवा, सिन्कौली, जिरा, मेथी र ज्वानोजस्ता वनस्पतिको औषधीय गुणको प्रचार भएर प्रयोगसमेत बढ्नु स्वास्थ्य सचेतनाका दृष्टिले उत्तम मानिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । योसँगै जटिलभन्दा जटिल रोगको उपचारमा आयुर्वेदले सुझाउँदै आएको गुर्जो, पारिजात र तुलसीले कोभिड–१९ मात्र नभएर थुप्रै स्वास्थ्य समस्याबाट जोगाउन सकिने जिल्लाकै एकडारा गाउँपालिका भटौलियाका बासिन्दा वरिष्ठ स्वास्थ्यकर्मी जयबीरलाल कर्णको भनाइ छ । “चर्चा गरिएका हाम्रो भान्साका यी मसला र अन्य वनस्पति रोगको उपचारभन्दा रोग लाग्न नदिन बढी उपयोगी छन्”, उनले भने ।

पछिल्लो समय यी औषधीय गुणका वनस्पतिको प्रचार र प्रयोग बढेसँगै अब यसको व्यवसायिक खेती नै बढाउनुपर्ने आवश्यकता माथी विज्ञहरुले जोड दिएका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले यी र यस्ता औषधीय गुण भएका जडिबुटीको व्यवसायिक खेती गर्ने किसानलाई विशेष सहयोग गर्ने आफ्नो कार्यालयको नीति नै रहेको स्पष्ट पारे ।

अहिले कोभिड–१९ सङ्क्रमणको सन्त्रासबीच यस्ता वनस्पतिको घरायसी प्रयोग बढेसँगै बिरुवा जोगाउने, गोडमेल गर्ने क्रम बढेको देखिएको छ । बेसार, अदुवा, सिन्कौली, मरिच, ज्वानोजस्ता मसलाको व्यवसायिक खेतीकै चलन भएपनि यो व्यापक भने हुन नसकेको देखिन्छ । अब बिस्तारै यस्ता औषधीय गुणका वनस्पतिको खेतीमा चासो बढ्ने यस भेगका स्वास्थ्य विज्ञको विश्वास छ ।

२०७७ भदौ १९ गते शुक्रवार १४:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु