महोत्तरीमा आइसोलेसन कक्षको अभाव, कोरोना पुष्टि भएकालाई क्वारेन्टिनमै राखिँदा अन्य व्यक्तिमा फैलिन खतरा

महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि सङ्क्रमित थपिएपछि हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० पुगेको छ । पिसिआरका १९ जना र आरडिटी नौ जना गरी २८ बिरामी उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना भएका छन् । अन्यको उपचार जनकपुर कोरोना अस्पतालमा भइरहेको छ ।
भवनमा आइसोलेसन कक्ष र भेन्टिलेटरसहितका कक्ष निर्माण कार्य जारी रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भइसकेकालाई क्वारेन्टिनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमा समेत सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ । सङ्क्रमणको त्रास बढेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अस्पतालमा आइसोलेसन कक्ष निर्माणमा तदारुकता नदेखाइएका कारण अहिले आएर सङ्क्रमितलाई राख्ने स्थानको अभाव भएको हो ।
कोरोना सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्दै जान थालेपछि जिल्लाको मौजुदा क्षमताले उपचार प्रक्रिया थाम्न नसक्ने देखिएको छ । पिपिई, कीट, भिटिएम, आइसोलेसन श्यया, पिसिआर उपकरण र भेन्टिलेटर सामग्री पर्याप्त छैन नै स्वास्थ्यकर्मीको जनशक्ति पनि अपुग छ ।
२०७७ जेठ १९ गते सोमवार १०:४७ बजे प्रकाशित