"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

डडेल्धुराका होटेल पर्यटकमैत्री बनाइने

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेका होटेलहरूलाई पर्यटकमैत्री बनाइने भएको छ । पर्यटन भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै होटेलहरूलाई पर्यटनमैत्री बनाउन लागिएको होटेल व्यवसायी संघ डडेल्धुराले जनाएको छ ।

हावापानी र भौगोलिक हिसाबले सुन्दर डडेल्धुरालाई देशकै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सदरमुकाम क्षेत्रका साना तथा ठूला होटेलको योगदान रहने भएकाले पर्यटकमैत्री बनाइन थालिएको संघले जनाएको छ ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरी होटेल व्यवसायीहरूले जिल्ला सदरमुकाम क्षेत्रमा रहेका लज, रेस्टुरेन्टलगायतका स–साना होटेललाई व्यस्थित र स्वच्छ तथा सरसफाइयुक्त बनाउनेबारेमा छलफल गरेको डडेल्धुरा होटेल व्यवसायी संघका अध्यक्ष यज्ञराज बोहराले बताए ।

होटेल, लजमा अनिवार्य रूपमा दर्ता पुस्तिका राख्ने, सरसफाइ गर्ने, दर्ता गर्ने, मैत्रीपूर्ण व्यवहार गर्ने, मूल्य सूची राख्नुपर्ने निर्णय गरिएको छ । मदिरा बिक्रीका लागि अनुमतिपत्रमा उल्लेख गरेअनुसार नै बिक्रीवितरण गर्नुपर्ने, सुर्तीजन्य तथा धुम्रपान सेवनलाई नेपाल सरकारको ऐनअनुसार बिक्रीवितरण गर्नेलगायत विषयमा छलफल भएको उनले बताए ।

सहमती भएको विषय लागू भए–नभएको बारेमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अनुगमनसमेत गर्नेछ । सरकारले सयवटा पर्यटकीय क्षेत्रमध्ये डडेल्धुरका प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिर र डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लालाई समेत समेटेको छ ।

योसँगै डोटीका राज्यका चर्चित राजा नागी मल्लको दरबार, सायल झरना, गान्यापताल, आलिताल र परशुराम धामलगायत यहाँ दुई दर्जनभन्दा बढी पर्यटकीय स्थल छन् ।

२०७६ मंसिर १३ गते शुक्रवार १७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु