"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

किसानलाई गहुँको बिउमा ४० प्रतिशत अनुदान

बुटवल । तिलोत्तमा नगरपालिकाले स्थानीय  किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ । नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको हो ।

नगरपालिकाले गतवर्ष पनि गहुँको बिउमा ४० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार बिउमा अनुदान दिइएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । किसानको माग परिमाण संकलन गरेर भलबारी दल्कास्थित कृषि सेवा केन्द्रमार्फत बिउ वितरण गरिएको हो ।

नगरपालिकाले यसअघि सूचना जारी गरी आवश्यकताअनुसार गहुँको बिउ वडा कार्यालयमा टिपाउन किसानलाई जानकारी गराएको थियो । नगरपालिकाले भृकुटी, आदित्य, विजय, एनएल, गौतम जातको उन्नत गहुँको बिउ उपलब्ध गराएको हो ।

बिहीबार भलबारीस्थित कृषि सेवा केन्द्रमा नगरप्रमुख वासुदेव घिमिरेले वडा नम्बर ११ मृगौलीका किसान विश्राम कुँवर र रामलगन यादवलाई एक÷एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गरे । गहुँ वितरणको व्यवस्थापन कृषि शाखा र कृषि व्यवसाय प्रवद्र्धन समितिको सहकार्यमा भएको छ । गत वर्ष ५२ मेट्रिक टन गहुँको बिउ वितरण गरिएकोमा यस वर्ष एक सय ४५ मेट्रिक टन माग रहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

नगर उप–प्रमुख जागेश्वरी चौधरीले बिउको सदुपयोग गरी कृषि उत्पादन बढाउन किसानहरूलाई आग्रह गरिन् । गत वर्ष अनुदानमा उन्नत जातको बिउ दिएकाले गहुँ उत्पादन २० प्रतिशतले बढेको कृषि शाखा अधिकृत जीवन आचार्यले बताए । तिलोत्तमाको वडा नं. १३, १४, १६, १७ मा गहुँको उत्पादन बढी हुने गरेको छ ।  कार्यक्रम वडा नं. ७ का कार्यवाहक अध्यक्ष देवीलाल पंगेनीको अध्यक्षतामा भएको हो ।

२०७६ मंसिर १३ गते शुक्रवार १७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु