"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रदेश १ मा धानको उत्पादन घट्यो

विराटनगर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश अन्तर्गत १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमीनमा धान खेती गरिएको थियो ।

प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेति गर्न सकिने भएपनि यो वर्ष ३ लाख २० हजार १३४ हेक्टरमा खेति गरिएको कृषि विकास निर्देशनालयले बताएको छ ।
यो वर्ष प्रदेश १ मा ११ लाख ९८ हजार ७४० मेट्रिक टन धान उत्पादन भएको अनुमानित विवरण रहेको निर्देशनालयका सूचना अधिकृत प्रकाशकुमार डाँगीले बताए ।

निर्देशनालयका अनुसार अघिल्लो वर्षभन्दा ६२ हजार ९२५ मेट्रिक टन कम उत्पादन भएको हो । अघिल्लो वर्ष प्रदेश १ मा १२ लाख ६१ हजार ६६५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
चालू आर्थिक वर्ष सोलुखुम्बुमा धान खेति योग्य शतप्रतिशत जमीनमा धान खेति गरिएको थियो । सोलुखुम्बुमा १ हजार ५२५ हेक्टर खेतबाट ३ हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको छ ।

त्यस्तै सबैभन्दा धेरै झापामा ८४ हजार ८७५ हेक्टर जमीनमा ३ लाख ८१ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको छ । झापामा धानको उत्पादकत्वपनि सबै भन्दा राम्रो छ । झापामा यो वर्ष प्रतिहेक्टर ४ दशमलव ५० मेट्रिक टनको दरले धान फलेको निर्देशनालयले बताएको छ ।

धान उत्पादनमा महत्वपूर्ण योगदान दिने झापा, मोरङ र सुनसरीमध्ये यो वर्ष मोरङ र सुनसरीको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १० मेट्रिक टन रहेको छ । पहाडी जिल्लाहरुमध्ये धानको उत्पादकत्व धनकुटामा सबैभन्दा राम्रो भएको छ । धनकुटामा यो वर्ष प्रतिहेक्टर उत्पाकत्व ३ दशमलव १२ मेट्रिक टन रहेको छ ।

खोटाङको उत्पादकत्व सबैभन्दा कम १ दशमलव ७५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । खोटाङको १० हजार ३१८ हेक्टर जमीनामा यो वर्ष धानखेति गरिएको थियो ।

प्रदेशमा धान उत्पादकत्व भने सन्तोषजनक रहेको छ । यो वर्ष औसतमा ३ दशमलव ७४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको छ ।

धान खेतियोग्य जमीनमध्ये झण्डै २० हजार हेक्टरमा यो वर्ष धान खेति नभएको र आकाशे पानीमा भरपर्दा समयमा रोपाई गर्न नसक्दा अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा केही ह्रास आएको कार्यालयले बताएको छ ।

२०७६ मंसिर ११ गते बुधवार १४:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु