चाडपर्वका वेला आवागमनलाई सहज बनाउन सहायता कक्ष सञ्चालनमा
चाडपर्वका वेला आवागमनलाई सहज बनाउन कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकामा नेपाल र भारतका सुरक्षा अधिकारीले संयुक्त नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएका छन् ।
नेपाल–भारत सीमारेखामा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका वेला भारतबाट घर फर्कने नेपालीको सहज आवागमनका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । यसले दुवै देशका नागरिकलाई नाकामा आवागमन गर्न सहज हुने बताइएको छ ।
सहायता कक्षमा बस्ने सशस्त्र प्रहरी र एसएसबी अधिकारीहरूले नाकामा आवागमन सहज बनाउन सहजीकरण गर्ने र कसैले समस्या भोग्नुपरेमा समन्वय गरेर समाधान गर्ने बताइएको छ । सशस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजस्व तथा धनगढी भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक भोलाप्रसाद कुसहवा र भारतीय सीमा सुरक्षा बलका असई मकवान राईले नागरिक सहायता कक्षको उद्घाटन गरेका छन् ।
भारतबाट घर फर्कने नेपालीले सीमामा दुःख नपाऊन् भनेर सहायता कक्ष सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी नायव उपरीक्षक कुसहवाले बताए । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर सीमामा कुनै समस्या नहुने गरी आवागमनको व्यवस्था गरिएको उनले दाबी गरे ।
२०७६ असोज ६ गते सोमवार १५:०५ बजे प्रकाशित