"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बजेट : प्रदेश १ का कर्मचारीलाई वर्षमा ६ दिन भ्रमण बिदा

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् ।

४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश नं १ सरकारले प्रदेश कर्मचारीका लागि बिदा पर्यटनको अवधारणा सार्वजनिक गरेको छ । प्रदेशमा निरन्तर १ वर्षभन्दा बढी काम गरेका कर्मचारीले वर्षको ६ दिन भ्रमण बिदा सुविधा पाउनेछन् । त्यसवापत प्रदेश सरकारले २५ हजार रुपैयाँ भ्रमण खर्च समेत उपलब्ध गराउने भएको छ ।

स्वच्छ, सुखी र समुन्नत प्रदेश नारासहित आएको बजेटले कोशीटप्पु क्षेत्रमा नदीले छाडेको सार्वजनिक जग्गालाई बस्तीरहित कृषि भूमिका रुपमा विकास गर्ने घोषणा गरेको छ । यहा विशेष कृषि उत्पादन गरी व्यवसायिक खेती गरिने भएको छ । प्रदेशलाई पाँच वर्ष भित्र मासु, अण्डा र माछामा आत्मनिर्भर बनाउने गरी कृषि क्षेत्रमा ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सगरमाथा आधार शिविरदेखि कंचनजंघा क्षेत्रसम्म हिमालयन पदमार्ग निर्माणसहित एक स्थानीय तह एक पर्यटकीय पूर्वाधारको योजना समेत सार्वजनिक गरिएको छ ।

गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिना धितो सुलभ ऋण उपलब्ध गराउने उद्देश्यले शुरु ‘जनता चिकित्सा कोष’मा बजेट छुट्याएको प्रदेश १ सरकारले प्रदेश प्राथमिकता प्राप्त आयोजनामा बजेटसहित सडक र पुलमा ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोशीका सहायक नदीमा जलयातायातको सम्भाब्यता अध्ययन गर्ने योजना बनाएको सरकारले विपि कोइराला, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको नाममा ‘राजनेता पार्क निर्माण’को घोषणा समेत गरेको छ ।

२०७६ असार २ गते सोमवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु