"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

समृद्ध धनगढीका लागि २५ वर्षे गुरुयोजना बनाउँदै

धनगढी । धनगढीलाई व्यवस्थित उपमहानगर बनाउन २५ वर्षीय दीर्घकालीन गुरुयोजना निर्माणको काम भइरहेको छ । नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत गुरुयोजना निर्माण भइरहेको हो । सहरी योजनाअनुसार धनगढीलाई व्यवस्थित सहरका रूपमा विकास गर्न दीर्घकालीन सोचसहितको गुरुयोजनाको मस्यौदा तयार पारिएको आयोजना प्रमुख सुरेशकुमार वाग्लेले जानकारी दिए । सरोकारवालाका सुझाब समेटेर मस्यौदालाई अन्तिम रूप दिन लागिएको उनले बताए ।

गुरुयोजनामा सडक, ढल, एकीकृत फोहोरमैला व्यवस्थापन, दिसाजन्य फोहोर व्यवस्थापन र सहरी योजनाका कार्यक्रम समेटिएका छन् । गुरुयोजना निर्माण गरिरहेको परामर्शदाता कम्पनी बिडिएले व्यवस्थित बस्ती विकास, औद्योगिक र कृषि क्षेत्र, अस्पताल क्षेत्र, पार्कलगायतका योजना गुरुयोजनाको मस्यौदामा समेटिएको जनायो ।कम्पनीका परामर्शदाता इन्द्रकुमार पौडेलले धनगढीका अधिकांश क्षेत्र घना बस्तीको रूपमा विकास भइनसकेकाले योजनाबद्ध विकास हुन सके नगरलाई व्यवस्थित विकास गर्नसकिने बताए ।

‘मुख्य बजार क्षेत्रमा जनघनत्व बढ्दै गएको छ तर शाखा सडक छेउछाउका सडकमा बस्ती भए पनि खाली क्षेत्र पनि छ,’ पौडेलले भने, ‘खाली क्षेत्र बढी रहेकाले गुरुयोजनाअनुसार जाने हो भने नगरलाई व्यवस्थित सहरको रूपमा विकास गर्न सकिन्छ ।’उपमहानगर राजमार्गसँग जोडिएको हुनु, परम्परागत व्यापारिक स्थान, प्रशस्त वनजंगल हुनु, खेतीयोग्य भूभाग हुनु, विभिन्न संस्कृतिको समिश्रण हुनु र सहरी विस्तारका लागि जमिन हुनुले व्यवस्थित सहरको रूपमा विकास गर्ने आधार भएको गुरुयोजनाको मस्यौदामा उल्लेख छ ।

गुरुयोजनाले नगरभित्र नगर बसपार्क, हाटबजार, मनोरञ्जन स्थल, कभर्डहल, पार्किङ क्षेत्र, विमानस्थल, खुल्ला क्षेत्र, पार्क, आकाशे पुल, फोहरमैला व्यवस्थापन केन्द्र, पर्यटक सूचना केन्द्रलगायत क्षेत्र कहाँ रहने भन्ने तय गर्ने बताइएको छ ।
चुनौतीको पहिचानबढ्दो अव्यवस्थित सहरीकरण र जनसंख्याको बढ्दो चाप, जग्गाको खण्डीकरण, भवन संहिताको पालना नहुनु व्यवस्थित सहरीकरणको चुनौती रहेको मस्यौदामा औँल्याइएको छ ।

नदी कटान र डुबानको जोखिम, दक्षिण भारतमा राष्ट्रिय निकुञ्ज जोडिएको हुनु पनि दुर्बल पक्ष रहेको उल्लेख छ । धनगढी सुदूरपश्चिम प्रदेशमा रहेको एउटा मात्र उपमहानगरपालिका हो । धनगढीका पूर्वनगर प्रमुख खेमराज पाण्डेयले भावि पुस्तालाई हेरेर योजनाबद्ध विकास अगाडि बढाउन जरुरी रहेको बताए ।

गुरुयोजनाअनुसार काम गर्छौँ स् नगरप्रमुख
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले गुरुयोजना सम्पन्न भएपछि त्यहीअनुसार विकासका कामलाई अगाडि बढाइने बताए । गुरुयोजना कार्यान्वयन गर्न तत्पर रहेको भन्दै उनले यहाँको व्यवस्थित विकासमा सबैलाई सहयोगका लागि अपिल गरे । विगत, वर्तमान र भविष्यलाई विश्लेषण गरेर दीर्घकालीन सहरी विकास योजना निर्माण गरिन लागेको नगर प्रमुख वडको भनाइ छ ।

‘२५ वर्षपछिको नगर कस्तो हुने भन्ने परिकल्पना गरेर योजना निर्माण भइरहेको हो,’ उनले भने, ‘अहिले बनाउने दीर्घकालीन योजनासँग धनगढी नगरवासीको भविष्य जोडिएको छ । त्यसैले, विज्ञ र सरोकारवालासँग व्यापक छलफल गरेर रायसुझाब लिइरहेका छौँ ।’

एसियाली विकास बैंकको सहयोगमा लागू भएको क्षेत्रीय सहरी विकास आयोजनाले गुरुयोजनाका साथै सडक निर्माण र फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्दै छ ।

२०७६ जेठ १५ गते बुधवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु