प्रदेशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा
झापा । विर्तामोडको कन्काई हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । कन्काईले आइतबारबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
शनिश्चरेस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर भएर आएकी बिरामी बुद्धशान्ति गाउँपालिका–३ की ४२ वर्षीया यादवकुमारी सापकोटाले कन्काईमा यो कार्यक्रम उद्घाटन गरिन् । यो कार्यक्रम सञ्चालनमा ल्याएसँगै हस्पिटलले जनशक्ति र शैय्या बढाउने तयारी सुरु गरेको छ । ५५ शैय्याको हस्पिटलमा हाल एक सय ३० जना जनशक्ति कार्यरत छन् । ३० जना जनशक्ति थप्ने र शैय्या एक सय पाँच पु¥याइने हस्पिटलका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर राईले बताए । ३ शैय्याको आइसियुलाई ५ शैय्याको बनाउने हस्पिटलको तयारी छ ।
स्वास्थ्य बीमाका लागि ५ जनाको परिवारले वार्षिक २५ सय रुपैयाँ बुझाउनुपर्छ । त्यसबापत उनीहरुले स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँसम्मको छुट पाउँछन् । तर, यो व्यवस्थामा फेरबदल गर्दै सरकारले ३५ सय प्रिमियम बुझाउँदा एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सरकारले ७० माथिका बृद्धबृद्धाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
‘स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न प्राविधिक कुराहरु धेरै बुझ्नुप¥यो, यसका लागि एक वर्ष त अध्ययन नै गरेँ,’ राईले भने, ‘यहाँबाट सरकारलाई गर्ने मासिक रिपोर्टिङका आधारमा स्वास्थ्य बीमा कार्यक्रमका लागि कन्काई हस्पिटल छानिएको हो ।’ हस्पिटलले सरकारले तोकेबमोजिम ११ सय ३३ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर गरिएका बिरामीले कन्काई हस्पिटलमा आएर सेवा लिन सक्ने हस्पिटलका बीमा कार्यक्रम संयोजक अभय भुजेलले बताए ।
७ अस्पताल र ६ केन्द्रमा स्वास्थ्य बीमा
योसँगै झापामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित अस्पतालको संख्या ७ पुगेको छ । अस्पतालबाहेक झापाका ६ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा यो कार्यक्रम सञ्चालित छ । कन्काईबाहेक स्वास्थ्य बीमा कार्यक्रम लागु भएका अस्पतालहरुमा मेची अञ्चल अस्पताल भद्रपुर, दमक अस्पताल दमक, लाइफलाइन अस्पताल दमक, आम्दा अस्पताल दमक, एड्भान्स मल्टि स्पेशलिटी हस्पिटल दमक र मेची आँखा अस्पताल बिर्तामोड छन् ।
औषधिबारे सर्वसाधारण अनविज्ञ
जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक वर्ष पूरा भइसकेको छ । झापामा २५ अजोज २०७४ बाट दर्ता प्रक्रिया सुरु भइ १ मंसिरबाट स्वास्थ्य बीमाको सेवा दिन थालिएको स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी दिलीप पोखरेलले बताए ।
दर्ता अधिकारी पोखरेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रम लागु भएका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा समय–समयमा अनुगमनमा पनि जाने गरिएको छ । ‘कहिलेकाहीँ समस्या, गुनासाहरु आउँदा जाने गरेका छौँ,’ उनले भने, ‘बीमा कार्यक्रमभित्र औषधिहरु कुन कुन पर्छ भन्ने सर्वसाधारणमा जानकारी छैन ।’
स्वास्थ्य बीमा बोर्ड झापामा औषधिबारे थाहा नभएको गुनासो नै बढी आउने गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा औषधिको सूची नै उपलब्ध गराएको छ । कार्यक्रमभित्र ११ सय ३३
प्रकारका औषधि सूचिकृत छन् । तर, अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ती सबै औषधि उपलब्ध हुँदैनन् । ‘अस्पतालले दिने सेवासँग सम्बन्धित औषधि चाहिँ राखिएको हुन्छ, सम्झौताअनुसार औषधि उपलब्ध गराउनै पर्छ,’ स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी पोखरेलले भने ।
स्वास्थ्य बीमा कार्यक्रमभित्र झापामा कस्मेटिक सर्जरी सेवा र कृत्रिम गर्भाधानको सेवा समावेश गरिएको छैन । सूचिकृत बाहेकका औषधिमा शुल्क लाग्ने बताइएको छ । स्वास्थ्य बीमा गरेकाहरुका लागि झापामा एम्बुलेन्स सेवा पनि उपलब्ध छैन ।
२०७६ जेठ १५ गते बुधवार १२:४१ बजे प्रकाशित