स्तरोन्नतिका लागि धनगढी विमानस्थल एक महिना बन्द

धनगढी । काठमाडौंबाट उडान हुने सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी विमानस्थल एक महिनाका लागि बन्द भएको छ । स्तरोन्नतिका लागि विमानस्थल आइतबारदेखि बन्द गरिएको हो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले धावनमार्गको कालोपत्रे थप्नेलगायत स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको जानकारी दिए ।
विमानस्थल बन्द भएपछि यात्रु समस्यामा परेका छन् । विमानस्थल बन्द हुँदा विशेषगरी सुविधासम्पन्न अस्पतालमा तत्काल पु-याउनुपर्ने गम्भीर प्रकृतिका बिरामी समस्यामा परेका स्थानीय मनोज अवस्थीले बताए । विमानस्थल बन्द नगरी कालोपत्रे, मर्मत र स्तरोन्नति गरिनुपर्ने स्थानीयको माग छ । काठमाडौं–धनगढी रुटमा निजी विमान कम्पनीले दैनिक चारवटा उडान गर्दै आएका थिए । यसबाहेक हप्तामा तीनवटा उडान नेपाल एयरलाइन्सले भर्ने गर्छ । ट्राभल एजेन्सीका अनुसार यो रुटमा दैनिक करिब तीन सयजनाले हवाईयात्रा गर्छन् ।
पिचको मोटाइ ११ सेन्टिमिटर बनाइने
धावनमार्गको पिचको मोटाइ ११ सेन्टिमिटर बनाइँदै छ । धावनमार्गमा अहिले पाँच सेन्टिमिटरको पिच छ । करिब आठ सय मिटर लम्बाइ र १५ मिटर चौडाइको पिच भत्काएर ११ सेन्टिमिटर मोटाइको पिच बनाउने तयारी भएको विमानस्थल आयोजनाका प्रमुख रतनकुमार श्रेष्ठ जानकारी दिए ।
धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको जिम्मा लुम्बिनी–कोसी एन्ड न्यौपाने–खड्का–कोराला जेभी काठमाडौंले पाएको छ । विमानस्थल स्तरोन्नति र कालोपत्रेका लागि १७ करोड, ८८ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।
२०७६ वैशाख २८ गते शनिवार १७:११ बजे प्रकाशित