"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रदेश २ मा दाइजोविरुद्ध सामाजिक अभियान

जनकपुरधाम । दाइजो (दहेज) प्रथा उन्मूलन गर्न मुस्लिम नेता, सामाजिक अगुवा तथा धार्मिक गुरु सक्रिय भएका छन् । दाइजोका कारण महिला हिंसा, बालविवाह र हत्याका घटना बढेपछि प्रदेश २ मा त्यस्तो सक्रियता देखाइएको हो । मुस्लिम समुदायका राजनीतिकर्मी, सामाजिक अगुवा तथा धार्मिक गुरुले अभियान थालेका छन् ।

आठवटै जिल्लाबाट भेला भएका उनीहरूले प्रदेशस्तरीय कमिटी गठन गरेका छन् । कमिटीलाई उनीहरूले ‘मिसन दहेजमुक्त समाज’ नाम दिएका छन् । मोहम्मद जबार राइनको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कमिटी गठन गरिएको समाजका प्रवक्ता मोहम्मद साजिद हुसेनले जानकारी दिए । भेलामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहटबाट बौद्धिक वर्ग, सामाजिक अगुवा, मौल्बी, मौलानालगायत सहभागी थिए ।

भेलामा मौलना (धर्मगुरु) हरूले दाइजो प्रथा इस्लाम धर्मविपरीत रहेको भन्दै यसलाई निर्मूल गर्नुपर्ने बताए । मौलाना इजरायल अहमद रिजवीले इस्लामिक धर्मग्रन्थ कुरान सरिफमा दाइजोसहित गैरकानुनी र अवैध ढंगबाट आर्जित धनलाई हराम भनिएको बताए ।

फजुलखर्ची, दाइजोबाट आएको रकम, जुवातास, सराब, वेश्यालय र करकापबाट आएको रकमलाई इस्लाममा हराम भनिएको उनले बताए । ‘करकापले बेहुली पक्षबाट लिइएको रकम दाइजो हुन गएकाले त्यसलाई नियन्त्रण गर्नु आवश्यक छ,’ उनले भने । मुस्लिम समुदायमा दाइजो र उपहारस्वरूप दिइने सम्पूर्ण कुराको रेकर्डस्वरूप लिखित हुने गरेकाले दाइजो लिने व्यक्तिलाई सजिलै पहिचान गर्न सकिने अधिवक्ता अजिज आलमलले बताए ।

संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले अभियानमा पूर्ण समर्थन रहेको बताए । ‘विगतमा मुस्लिम समुदायमा दाइजो एकदम न्यून मात्रामा हुन्थ्यो, अहिले अन्य समुदायजस्तै मुस्लिम सामुदायमा पनि हुन लागेको छ,’ उनले भने, ‘दाइजो नियन्त्रणमा इस्लामिक धर्मगुरुहरूको महत्वपूर्ण भूमिका हुन सक्छ ।’
फैदान मदिना मदरसाको प्रमुख मोफ्ती उसमान रिजवीले दाइजोका कारण गरिब विपन्न मुस्लिम समुदायका छोरीहरूको बिहेमा समस्या भइरहेको बताए । दाइजोकै कारण महिला हिंसामा वृद्धि भएको उनले बताए । ‘कसैको मन दुखाएर दाइजो लिनु इस्लाम धर्मले वर्जित गरेको छ । त्यसकारण यस्ता विकृतिविरुद्ध सबै तहतप्काबाट पहल हुनुपर्छ,’ उनले भने ।

– नयाँपत्रिकाबाट

२०७६ वैशाख २४ गते मंगलवार १२:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु