दार्चुला सदरमुकाम क्षेत्र खानेपानीको चरम अभाव

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी कम हुन थालेपछि सदरमुकाम क्षेत्र खानेपानीको चरम अभाव भएको हो ।
सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएपछि महाकाली नगरपालिकाले शुक्रबारदेखि निःशुल्क पानी वितरण गर्न थालेकोे छ ।
सदरमुकाम बाट केही किलोमिटर टाढा रहेको धौलीगाड खोलाबाट पानी दमकलमा ल्याई सदरमुकाम क्षेत्रका स्थानीयलाई पानी वितराण गरिँदैछ ।
खोलाबाट ल्याइएको पानी पानी पिउन समेत योग्य रहेको नगरपालिकाले जनाएको छ ।
खानेपानीको चरम अभाव भइरहेका बेला सदरमुकामवासीलाई केही सहज होस् भन्ने उद्देश्यले नगरपालिकाको आफ्नै दमकलबाट निःशुल्क रुपमा नगरवासीलाई पानी वितरण गरिरहेको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष पुस्कर राज जोशीको भनाइ छ ।
जिल्ला सदरमुकाम क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा यहाँका स्थानीयहरू बेलाबेला खानेपानीको समस्या झेल्दै आइरहेका छन् । सदरमुकामबासी अहिले जिल्ला नजिकको खानेपानीको मूलमा धाउन बाध्य छन् । मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीय बताउँछन् ।
२०७६ वैशाख ४ गते बुधवार ११:३४ बजे प्रकाशित