विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्दा ठेकेदारको अनियमितता
खोटाङ । खोटाङको लामिडाँडा विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी खुसी छन् । तर, काममा भएको ढिलाइ र गुणस्तरमाथि जनप्रतिनिधिहरूले प्रश्न उठाएका छन् । लामीडाँडा विमानस्थल कालोपत्रेमा भइरहेको ढिलाइका बारेमा अनुगमन गर्न प्रतिनिधिसभा सदस्य विशाल भट्टराईसहित जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नेपाली कांग्रेसका युवा नेता सुवाशकुमार पोखरेल, पत्रकार लगायतको टोली गत मंगलबार लामीडाँडा विमानस्थल पुगेको थियो । ‘कालोपत्रे गरिएको धावनमार्गमा खाल्डाखुल्डी देखिएको छ,’ अनुगमनपछि सदस्य भट्टराईले भने, ‘कालोपत्रे गरिएको ठाउँमा खाल्डाखुल्डी हुनुहुँदैन । अहिले सुरुवाती चरणमै रहेकाले सुरुबाटै गुणस्तरीय बनाउन र तोकिएकै समयमा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएको हो ।’
उडान अवरुद्ध
विमानस्थलमा कालोपत्रे थालिएसँगै अघिल्लो वर्षको वैशाख महिनाबाट उडान तथा अवतरण अवरुद्ध भएको स्टेसन प्रमुख रमेश श्रेष्ठले बताए । निकै व्यस्त रहने लामीडाँडा विमानस्थलमा हवाई यातायात अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाई समेत असर पुगेको छ ।
४७ वर्षपछि कालोपत्रे हुँदै
४७ वर्षसम्म कच्ची अवस्थामै सञ्चालन भएको यो विमानस्थल कालोपत्रे गर्ने काम धमाधम भइरहेको निर्माण कम्पनीहरूले बताएका छन् । वाइएनएस, एसएपी र सूर्य कन्स्ट्रक्सन प्रालिले साझेदारीमा यस विमानस्थलको निर्माण ठेक्का पाएका छन् । ०२८ सालबाट विमानस्थल सञ्चालनमा आएको थियो । जिल्लाकै सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलको हालसम्म करिब चार सय स्क्वायर मिटर कालोपत्रे गरिसकिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ कालोपत्रे गर्नुपर्ने विमानस्थलको टर्निङ प्याडमा दाँयारबाँया २८र२८ मिटर कालोपत्रे हुने जनाइएको छ ।
कालोपत्रेको लागि आधाभन्दा बढी भागमा प्राइम गरिसकिएको र आगामी चैत मसान्तसम्ममा सबै काम सम्पन्न गरिने ठेकेदार कम्पनीका सुपरभाइजर नवराज निरौलाले बताए । ‘अहिले कालोपत्रे गरिएको ठाउँमा बालुवा घोलेर हाल्न बाँकी नै छ,’ उनले भने, ‘गुणस्तरीयतामा कुनै समस्या हुँदैन र आगामी चैत मसान्तभित्र सम्पन्न गरेर प्राधिकरणलाई बुझाउने तयारी गरेका छौँ ।’
जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर निर्माण गरिएको लामीडाँडा विमानस्थलको कालोपत्रेको काम लगातारको वर्षा र चिसो मौसमका कारण केही समयका लागि रोक्नुपरेको ठेकेदार कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको लगानीमा विमानस्थलमा कालोपत्रे हुन लागेको हो । विमानस्थल कालोपत्रेका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ करोड ७६ लाख ९३ हजार आठ सय नौ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
२०७५ फागुन २६ गते आइतवार १२:१५ बजे प्रकाशित