"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बबई सिँचाइ आयोजना : म्याद थप्दै लागत बढाउँदै

बर्दिया । बबई सिँचाइ आयोजनाले थप एक वर्ष म्याद थप्न विभागसँग प्रस्ताव गरेको छ । ०७५ सालमै नहरको सबै काम सक्ने लक्ष्य थियो । तर, हरेक वर्ष म्याद थप्दै जाँदा आयोजना ४ वर्ष पर धकेलिएको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाही छोप्न म्याद थपको शृंखला चलिरहेको सरोकारवालाले बताए ।
आयोजनाका लागि झन्डै ७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मूल, शाखा र प्रशाखाको काम सम्पन्न गर्न र यस क्षेत्रमा सिञ्चित क्षेत्रको विकास, कृषि, वातावरण संरक्षण, जल मापन गेज निर्माणलगायत कामका लागि १७ अर्ब खरिद गुरुयोजना स्वीकृत प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।
पश्चिम मूल नहर अन्तर्गत ४२ किमिमध्ये २० किमि निर्माण भइसकेको छ । परेवा ओडारदेखि गुलरिया नगरपालिकाको रत्नापुरसम्म नहर निर्माण हुनेछ । चालु आवमा ८ किमि पश्चिम मूल नहर अन्तर्गत मुआब्जा वितरण र ठेक्का सम्झौता भएको छ । भेरी, बबई डाइभर्सनको पानी बबईमा झारेर झन्डै ३६ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित आयोजना सञ्चालनमा छ ।

२५ वर्षअघि राष्ट्रिय अभियान र ०६९ सालमा राष्ट्रिय गौरवको आयोजनामा परिणत भएको बबईको अहिलेसम्म ५९ प्रतिशत काम सकिएको छ । पूर्वी क्षेत्रमा करिब ३४ किमि मूल नहर निर्माण गर्नुपर्ने भए पनि ३१ किमि मात्र बनेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले दुईपटक म्याद थप गरे पनि करिब ४ किमि लाइनिङको कामले गति लिएको छैन ।

एनसीबी–लामा बिरुवा जेभीले १३ करोडको ठेक्का ९ करोडमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले ७ करोडको रकम भुक्तानी लिइसकेको छ । त्यस्तै १७ नम्बर प्याकेज अन्तर्गत ८ करोड ४ लाखको ठेक्का मृत सञ्जीवनी गोल्छा जेभीले ६ करोड ४ लाखमा सम्झौता गरेको थियो । उसले पनि ४ करोड ९ लाख रकम बुझिसकेको छ ।

लाइनिङ निर्माणको प्याकेज नम्बर १९ मा लामा बाम्तीले १० करोडको ठेक्का ७ करोड ३५ लाखमा लिएको हो । त्यहाँ पनि ढिलासुस्तीले काम भएको छैन । कम्पनीले ४ करोड ५ लाख भुक्तानी लिएको छ । आयोजनाले ४ किमि लाइनिङको काम चालु आवभित्र गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । सम्झौता अवधिभित्रै काम नसके ०।०५ प्रतिशत प्रतिदिनका दरले २ सय दिनको जरिवाना, बाँकी काममा २५ प्रतिशत जरिवाना र ठेक्का रद्द गरी कालो सूचीमा राख्ने आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए ।

राष्ट्रिय गौरवको आयोजना हुनुअघि मूल नहर निर्माणका लागि ०४५ सालमा ५ करोड बजेट निकासा भई काम सुरु भएको थियो । ०६९ सालमा राष्ट्रिय गौरवको आयोजना सुरु भएर ४३ करोड बजेट निकासापछि कामले गति लिँदै गएको आयोजनाका प्राविधिकहरूले बताए । चालु आवमा १ अर्ब ३७ लाख रुपैयाँ बजेट निकासा भएको छ ।

पश्चिम मूल नहरका अध्यक्ष पदम काफ्लेले आयोजनाको योजना बनाउन नपाउँदै प्रमुख सरुवाको परिपाटीले काममा ढिलासुस्ती हुने गरेको बताए । ‘राजनीतिक आस्था, पहुँचलगायतले धेरै दिन आयोजना प्रमुख टिक्दैनन्,’ उनले भने, ‘यसै कारण आयोजनाको काम अलमलमा पर्ने गरेको छ ।’

२ वर्षमा ३ आयोजना प्रमुख फेरिएको उनले बताए । अहिले समायोजनले कर्मचारी पनि अन्योलमा छन् । ०४५ सालमा पूर्व–पश्चिम राजमार्गको परेवा ओडारमा बबई सिँचाइको बाँधसहितको पुल ६३ करोड ८५ लाख लागतमा निर्माण सम्पन्न भएको थियो । ०५० सालमा साढे ५ किमि मूल नहरको सुरुको खण्ड निर्माण गरी मौजुदा झेना, पदनाहा र राजकुलोमा पानीको सुविधा पुर्‍याउँदै आएको थियो । ‘२५ वर्ष बितिसक्दा पनि ३४ किमि मूल नहर निर्माण हुन सकेको छैन,’ पूर्वी मूल नहरका उपाध्यक्ष देवेन्द्र विष्टले भने, ‘राजनीतिक अस्थिरता, छिटो छिटो कर्मचारी सरुवा र ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती भएको छ ।’

०५१ चैत ९ गते बबई मूल नहरको काम सम्पन्न गर्न सरकारले राष्ट्रिय अभियानका रूपमा काम सञ्चालन गरेको थियो । त्यसलगत्तै स्थानीय, कर्मचारी, राजनीतिक दल, प्रहरीलगायत शिक्षकले श्रमदान गरेका थिए । त्यसका बाबजुद निर्माण कम्पनीबाट काम गराउँदा ३४ मध्ये ३१ किमि मूल नहर निर्माण गर्न २५ वर्ष लागेको हो । स्थानीय किसान गोपाल थारूले पूर्वी मूल नहर २५ वर्ष बितिसक्दा पनि नबन्नु दुर्भाग्य भएको बताए । ‘राष्ट्रिय आयोजनाको काम द्रुत गतिमा हुनुको साटो कछुवाको गतिमा भएको छ,’ उनले भने, ‘मूल नहर नबन्दा किसानले सिँचाइ सुविधाबाट वञ्चित हुँदै गएका छन् ।’

पूर्व र पश्चिम मूल नहरमा हालसम्म ६ अर्ब ८९ करोड बढी रकम खर्च भएको छ । मूलसँगै शाखा निर्माण भए पनि बबईमा पर्याप्त पानी नहुँदा किसानले वर्षभरि प्रतिफल पाउन सकेका छैनन् । पर्याप्त सिँचाइका लागि ६० घन मिटर पानीको आवश्यकता रहेको आयोजनाले जनाएको छ । भेरी–बबई डाइभर्सन निर्माण सम्पन्न भएपछि १२ महिना पर्याप्त सिँचाइ हुनेछ ।

०४५ सालमा पूर्वतर्फको नहर निर्माण कार्य सुरु गरे पनि सिँचाइ सुविधा लक्षित ठाउँमा पुगेको छैन । हरेक वर्ष ठूलो रकम आए पनि कामले तीव्रता नलिएको गुलरिया–१२ का कमरुद्दिन खाँले बताए । ‘पैसा मात्रै खर्च भएको सुनिन्छ,’ उनले भने, ‘तर, कामले तीव्रता नपाउँदा नहरमा भएको लगानी बालुवामा पानीजस्तो भएको छ ।’ २ सय १४ किमि शाखा, प्रशाखा र स्ट्रक्चर निर्माण गर्नुपर्ने लक्ष्य रहेकामा डेढ सय किमि आधुनिक शाखा नहर बनेको आयोजनाले जनाएको छ ।
– कान्तिपुरबाट

२०७५ फागुन २६ गते आइतवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु