"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता

हुम्ला । हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ । विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ । गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्ष चीनसँगको सीमा नाका बन्द हुँदा खाद्य सङ्कट निम्तिने भएको हो ।

विगतका वर्षमा चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गरेर कमाइ हुने गथ्र्यो । यो वर्ष सीमा नाका बन्द भएकाले केही कमाउन नसकिएको लिमीका गिरमेत तामाङले गुनासो पोखे । बर्सेनि चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी यो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट वितरण गरिने चामलको भर पर्नुपरेको तामाङले बताए ।

लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न शुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नेतर्फ लागेको अर्का स्थानीय पेमाछोकी तामाङले बताए । उनका अनुसार सीमा नाका बन्द हुँदा असोज महिनामै लिमीमा खाद्य सङ्कट भएको थियो । “अब हिउँदको तीन महिना लगातार हिमपात हुने गर्छ, हिमपातले बाटो बन्द हुन्छ, यो समयमा हामी लिमीवासीलाई थप खाद्य सङ्कट निम्तिने छ”, उनले भने।

लिमीका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भइसकेको र ठेकेदारले ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटका प्रमुख रामबहादुर विष्टले बताए । लिमीमा खाद्य सङ्कट भएको गुनासो आएपछि तत्कालका लागि ३०० क्विन्टल चामल लिमीवासीलाई वितरण गरेको र बाँकी चामल ढुवानी भएपछि लगत्तै पठाइने प्रमुख विष्टले बताए ।

जिल्ला खाद्य व्यवस्था समितिको बैठकले जिल्लाभरिका लागि ७३ हजार क्विन्टल चामल माग गरेको छ तर माग गरेको मध्ये अहिले २५ हजार ८०० क्विन्टल मात्र चामल स्वीकृत भएको छ ।

सदरमुकामका लागि मात्रै १७ हजार क्विन्टल चामल माग हुँदा १० हजार क्विन्टल स्वीकृत भएको छ । चार हजार ५० क्विन्टल चामल हवाई मार्गबाट सिमकोट खाद्य संस्थानमा पुगेर वितरण गरेर पनि तीन हजार १०० क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख विष्टले जानकारी दिए ।

यस्तै सर्केगाड र अदानचुली डिपोका लागि दुई/दुई हजार क्विन्टलका दरले स्वीकृत भएको छ । छप्रेला वितरण केन्द्रका लागि ५००, याङ्गचु एक हजार र यो वर्ष स्थापना भएको तुम्चा वालुकुनाका वितरण केन्द्रका लागि ८०० क्विन्टल चामल स्वीकृत भएको तर बाटो समस्याका कारण ढुवानी हुन सकेको छैन ।

श्रीनगर डिपोमा १५० क्विन्टल र सर्केगाड डिपोमा १०० क्विन्टल चामल मौज्दात रहेको छ । ठेकेदार कम्पनीले समयमै ढुवानी गरेमा यो वर्ष विगतका वर्ष जस्तो हुम्लामा चामलको सङ्कट नहुने देखिएको छ ।

स्थलमार्गबाट नेपालगञ्जबाट सिमकोट शाखाका लागि प्रतिक्विन्टल रु पाँच हजार ९९०, सुर्खेतदेखि सिमकोटका लागि रु पाँच हजार ४९०, धनगढीदेखि सिमकोटसम्म रु छ हजार १००, नेपालगञ्जदेखि यान्चुसम्म रु पाँच हजार, सुर्खेतदेखि यान्चुसम्म रु चार हजार ८०० ढुवानी लाग्ने गरेको छ । यस्तै हवाई मार्गबाट प्रतिकेजी नेपालगञ्ज–सिमकोटको रु ११३ र सुर्खेत–सिमकोट ढुवानी गर्दा रु १०८ पर्ने गरेको विष्टले बताए ।

कर्णालीका अन्य जिल्लाभन्दा हुम्लाका लागि चामलको कोटा माग गर्दा केन्द्र सकारात्मक देखिएकाले विगतका वर्ष जस्तो ३० केजी चामलका लागि रु पाँच हजार तिर्नुपर्ने अवस्था हुन नदिने नहुने विष्टले बताए । खाद्यान्न ढुवानीको जिम्मा सीता र तारा एयरले लिएका छन् ।

२०७७ कात्तिक १७ गते सोमवार १०:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु