यातायात व्यवसायीले मनपरि भाडा लिएको उपभोक्ताको गुनासो, सिडिओ आफैँले गरे टिकट जाँच

जाजरकोट । यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफैं गरेको छ ।
गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिएको फेला परेको हो । सदरमुकामभन्दा पैदल तीन घण्टा टाढाको दूरीमा रहेको कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेको पहिलो घटना भएको स्थानीयवासीले बताएका छन् ।
यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएका यात्रुहरुका गाउँमै गएर बसभित्र टिकट जाँच गरिएको प्रहरीले बताएको छ । सदरमुकाममा सबै जिल्लाका प्रमुख हुने भएकाले कम समस्या देखिए पनि गाउँमा ठूलो समस्या भएको स्थानीयवासी बताउँछन् । कसैलाई जानकारी नदिई बसभित्र गएर अनुगमन थालेका प्रजिअ पन्त गाडीभित्र गएपछि सबै यात्रुहरु मुखामुखसमेत भएका थिए ।
२०७६ पुस १ गते मंगलवार १२:४६ बजे प्रकाशित