कर्णालीलाई कृषि अर्गानिक प्रदेश घोषणा गर्ने निर्णय

सुर्खेत । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने बाटो खुलेको छ । यसका लागि प्रदेश सभाले प्रांगारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ पारित गरेको छ । विधेयक पारित भएसँगै प्रदेशलाई अर्गानिक घोषणा गर्न बाटो खुलेको हो । प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई कृषि अर्गानिक प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । कर्णाली प्रदेश सभाको आइतबारको बैठकले विधेयक पारित गरेको हो ।
प्रदेश सभा बैठकमा विधेयक पारित गर्न प्रस्ताव पेस गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले नेपालमै पहलिोपटक अर्गानिक प्रदेश निर्माणका लागि कानुन बन्न लागेकामा खुसी व्यक्त गरिन् । प्रदेश सरकारले डेढ वर्षमै अर्गानिक प्रदेश बनाउने आधार तयार पारेको जिकिर गर्दै कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने बताइन् । ‘अर्गानिक प्रदेश निर्माणका लागि कानुन बनाउन सकेका छौँ । अब कानुन कार्यान्वयनमार्फत कर्णाली प्रदेशलाई नमुना प्रदेश बनाउने अभियानमा सबैको सहभागिता जरुरी छ,’ उनले भनिन् ।
विधेयकमाथि समितिको प्रतिवेदन पेस गर्दै सांसद अमर थापाले अर्गानिक कृषि उत्पादनको उपयोगिता र यसको फाइदाका विषयमा कृषकलाई सशक्तीकरण गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेश आफैँमा अर्गानिक प्रदेश भएको उल्लेख गर्दैै कृषि उत्पादनको बजारीकरणका विषयमा ध्यान दिन सके उत्पादन बढाउन समस्या नहुने उनको भनाइ थियो । ‘भौगोलिक रूपमा विकट कर्णालीका योजना तथा कार्यक्रमलाई अभियानका रूपमा लागू गर्नुपर्छ,’ उनले भने । अर्गानिक बनाउन रसायनिक मल प्रतिबन्द गरी जैविक मल तथा विषाधीको उत्पादनमा सरकारले लगानी गर्नुपर्ने उनको जोड थियो ।
२०७६ भदौ २४ गते मंगलवार १२:१४ बजे प्रकाशित