होमस्टेलाई सघाउँदै जुम्लाका स्थानीय सरकार
![image image](https://www.upabhoktanepal.com/wp-content/uploads/2019/03/received_633604436981653-1024x642.jpeg)
कर्णाली । स्थानीय सरकारले सघाउन थालेपछि जुम्लाका गाउँगाउँमा होमस्टे बनाउन थालिएको छ । पर्यटकीय गाउँ बनाउन स्थानीय सरकार पनि जुट्न थालेका छन् । तातोपानी गाउँपालिकाले पर्यटकीय गाउँ बनाउने तयारी थालेको छ । यसका लागि होमस्टेको योजना अघि सारिएको अध्यक्ष नवराज न्यौपानेले बताए । यसका लागि प्रदेश सरकारसँग पनि सहयोग माग गरिएको छ ।
यसका लागि तातोपानी गाउँपालिकाले समूह दर्ता प्रक्रिया सुरु गरेको छ । ‘पर्यटन प्रवद्र्धनसहित होमस्टे सञ्चालनका लागि लगानी गर्छौँ, विशेषगरी युवालाई प्रथामिकतामा राखेका छौँ,’ अध्यक्ष न्यौपानेले भने ।
तातोपानीसँग अन्य पाँच स्थानीय तह पनि होमस्टेको तयारीमा जुटेका छन् । उनीहरूलाई प्रदेश सरकारले पनि सघाउने भएको छ । केही स्थानीय तहले होमस्टेका लागि बजेट पनि छुट्याएको छ । कनकासुन्दरी गाउँपालिकालाई २५ लाख, सिंजा गाउँपालिकालाई २५ लाख, हिमा गाउँपालिकालाई २५ लाख र तातोपानी गाउँपालिकालाई ७० लाख विनियोजन गरेको छ ।
यस्तो छ होमस्टे सञ्चालनको मापदण्ड
जुम्लालाई पर्यटकीय सहर र कर्णालीमा १० लाख पर्यटक बनाउने सरकारले नीति लिएको छ । पर्यटन नीति ०६५ र नेपाल पर्यटन वर्ष– २०११ ले होमस्टेलाई व्यवस्थित गर्न व्यवसाय सञ्चालन विधि ल्याएको छ । यस कार्यविधि–२०६७ ले व्यवसाय दर्ता गर्दा व्यक्ति वा समुदायले पूरा गर्नुपर्ने, आधारभूत पूर्वसर्त तथा पूर्वाधारहरू, मापदण्ड र आचारसंहितालाई महत्व दिएको अवस्था छ ।
होमस्टे सञ्चालनका आधारभूत मापदण्डहरूमा कम्तीमा पाँचजना घरधनीको रोहबरमा स्तरीय स्थानमा चार कोठाको प्रयोग, भुइँमा गुन्द्री वा कार्पेट, राडीको व्यवस्था, ढोकामा डोरम्याट, ओढ्ने–ओछ्याउने कपडाको स्तर, कोठाभित्र बिजुली वा बत्तीको व्यवस्था अनिवार्य हुनुपर्नेछ । भने, धुवाँरहित कोठा, फोहोर व्यवस्थापन, ऐना, चप्पल, टेबल, कुर्र्सी, शौचालय र स्नानघर, भान्साकोठा र खाने व्यवस्था, सरसफाइको व्यवस्थाजस्ता विविध न्यूनतम मापदण्ड तोकिएका छन् । सोहीअनुसार समूह दर्ता गर्दा, खुलाउन पनि यहाँका स्थानीय सरकारले आह्वान गरेका छन् ।
२०७५ फागुन २६ गते आइतवार १२:०७ बजे प्रकाशित