"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

साधन प्रयोग भन्दा गर्भपतन गर्न सजिलो मान्न थाले महिला, स्वास्थ्यकर्मीद्वारा चिन्ता व्यक्त

पर्वत । आजभोली महिलाहरु परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने थालेका छन् । गत वर्ष प्रदेश चारको पर्वतमा मात्रै ९७२ महिलाले गर्भपतन गराएका छन् ।

जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिए । तर, गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटाले परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको भन्दै यसले समस्या निम्तिने खतरा रहेको बताए । पर्वतमा अस्थायी साधनको प्रयोगदर ३१ प्रतिशत रहेको छ । जबकि राष्ट्रियस्तरमा परिवार नियोजनको साधान प्रयोगदर ४२ दशमलव ७ प्रतिशत छ ।

अस्थायी परिवार नियोजनका साधन कण्डम, पिल्स, इनप्लान्ट, सङ्गीनी सुईको सर्वसुलभ व्यवस्था भए पनि प्रयोगकर्ताले झण्झट मान्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । पर्वतको कुश्मा नगरपालिकामा सबैभन्दा बढी ४९४ महिलाले गत वर्ष गर्भपतन गरेका छन् ।

डा देवकोटाले धेरैपटक गर्भपतन गराउँदा महिलामा शारीरिक समस्या देखिने बताए । उनले धेरैपटक गर्भपतन गर्दा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा हुने बताए । महिलालाई सकेसम्म गर्भनिरोधक अस्थायी साधानको प्रयोग गर्न डा देवकोटाको सुझाव छ ।

२०७६ मंसिर १९ गते बिहीवार १०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु