पोखराको पार्दीमा किसान बजार सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिकाले महानगरमा उत्पादित कृषिजन्य उत्पादन सीधै उपभोक्तालाई विक्री गर्ने उद्देश्यले पोखरा–१७ पार्दी बिरौटामा ‘किसान बजार’ सञ्चालनमा ल्याएको छ । उक्त बजार रू। ६ लाख ५० हजारको लागतमा सञ्चालनमा आएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कृषकले उत्पादन गरेका फलफूल तरकारी र कृषिजन्य उत्पादनलाई प्रत्यक्ष रूपमा उपभोक्तालाई विक्री गर्ने उद्देश्यले ‘किसान बजार’ सञ्चालनमा ल्याएको बताए ।
उक्त बजारमा अस्वस्थकर फलफूल र तरकारी विक्री गरेको भेटिएमा त्यस्ता कृषकलाई महानगरले कारबाही गर्ने चेतावनी समेत मेयर जिसीले दिए ।
महानगरले उपलब्ध गराएको साढे ६ लाख रुपैयाँको लागतमा २५ ओटा स्टल निर्माण गरी ‘किसान बजार’ सञ्चालनमा ल्याएको किसान बजार निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणि बरालले बताए । बजार दैनिक बिहान ६ बजेदेखि ९ः३० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खुला हुने बरालले जानकारी दिए ।
पोखराका २०, २१, २२, २३ र १७ वडामा उत्पादित कृषि उत्पादन किसान बजारमा विक्री गर्ने महानगरले बताएको छ । बिषादीरहित उत्पादनलाई विना बिचौलिया उपभोक्तालाई सहजै उपलब्ध गराउन र कृषकलाई कृषि उत्पादनमा उत्प्रेरित गर्न महानगरले यस्तो बजारको परिकल्पना गरेको बताइएको छ ।
महानगरका कृषि महाशाखाका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत मनहर कडरियाले महानगरले किसानलाई निःशुल्क स्टलको व्यवस्था मिलाएर कृषिजन्य उत्पादनको बजारीकरण गर्ने व्यवस्था मिलाएको बताए । महानगरले पोखराका काहुँखोला, ठुलीपोखरी, लेखनाथ लगायत स्थानमा पनि ‘किसान बजार’ सञ्चालनको तयारी थालेको महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।
२०७६ असोज २ गते बिहीवार २२:११ बजे प्रकाशित