"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चितवनमा निजी खर्चमा पिसिआर परीक्षण शुरु

चितवन । सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाउने भएका छन् । यहाँको चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पिसिआर परीक्षण गर्न शुरु गरेको छ ।

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच शुरु गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न शुरु गरिने छ । यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले जानकारी दिए।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु पाँच हजार ५०० मा १० प्रतिशत थप गरी शुल्क लिइनेछ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उनले जानकारी दिए ।

कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको हो । छ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्नसक्ने आठ जना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० को स्वाब परीक्षण गर्न सकिनेछ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।

प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिकाबाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् ।

जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । ठूला सङ्घसंस्था, बहुर्राष्ट्रिय कम्पनीले कर्मचारी र मजदूरको नमूना परीक्षणका लागि कुराकानी गरिरहेको उनले जानकारी दिए।

२०७७ भदौ २ गते मंगलवार १४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु