"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

किन भएन खुलामञ्चमा अवैध सटर बनाउने र आकासेपुलबाट रकम असुल गर्ने ठेकेदारलाई कारबाही ?

महानगरपालिकाको गलत निर्णयकै कारण, दुर्घटनाको जोखिम

काठमाडौं । राजधानीको खुलामञ्चमा अवैध सटर बनाई व्यापारिक प्रयोजनमा लगाउने ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईका सञ्चालकविरुद्ध कारबाही गर्न काठमाडौं महानगरपालिकाले विलम्ब गरेको छ ।
खुलामञ्चस्थित अस्थायी बसपार्क र दुईमाजू गुठीको जग्गामा अवैध सटर बनाई व्यापारिक प्रयोजनमा लगाएको पाइएपछि महानगरपालिकाले १४ वैशाखमा डोजर लगाएर भत्काएको थियो । यसबाट साना व्यापारीको आठ करोडभन्दा बढी रकम डुबेको थियो । उनीहरूले सटर लिन जनही १५ लाखसम्म पैसा तिरेका थिए । अवैध सटर बनाउनेमा बिकोईका सञ्चालक मनोजकुमार भेटवाल, उनका दाइ भैरव भेटवाल, ऋषि बर्तौला र राजु श्रेष्ठ छन् । तर, महानगरपालिकाले ठेकेदार कम्पनीका कसैलाई पनि कारबाही प्रक्रिया सुरु गर्न सकेको छैन ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले ठेकेदार कम्पनीले अवैध धन्दा गरेको पुष्टि भए पनि कारबाहीका लागि कुनै निर्णय नभएको बताए । ‘बिकोईले खुलामञ्चमा अवैध सटर बनाएको पुष्टि भयो । व्यापारिक प्रयोजनमा लगाएको पनि पुष्टि भयो । हामीले सबै संरचना भत्कायौँ । तर, उसलाई यत्तिकै छाड्ने कि कारबाही गर्ने भन्ने विषय टुंगिसकेको छैन,’ उनले भने, ‘हामी यस विषयमा छलफल गर्दै छौँ । विभिन्न कोणबाट विषय उठान भएका छन् । सबैले कारबाही गर्नुपर्छ भनेका छन् । उसलाई के गर्ने भन्ने विषय अब बस्ने बैठकबाट टुंगो लाग्छ । त्यहीअनुसार हामी अघि बढ्छौँ ।’
बिकोईले खुलामञ्चस्थित अस्थायी बसपार्कमा ५१ वटा सटर बनाएको थियो । दुईमाजू गुठीको करिब एक रोपनी जग्गामा बिकोईले ३२ स्टल बनाएको थियो । स्टल दिएबापत उसले व्यापारीबाट प्रतिस्टल सात लाख रुपैयाँका दरले दुई करोड २४ लाख रुपैयाँ सलामी रकम संकलन गरेको थियो । प्रहरीमा उजुरी गर्ने डर भएपछि ठेकेदार कम्पनीले केही व्यापारीलाई भने सलामी रकम फिर्ता गरेको छ । केहीको फिर्ता हुन बाँकी छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं। ६ का सांसद भीमसेनदास प्रधानले खुलामञ्चमा अवैध सटर बनाउने ठेकेदार कम्पनीलाई महानगरपालिकाले कारबाही गर्नुपर्ने बताए । ‘खुलामञ्चमा अवैध सटर बनाएर रकम संकलन गरेको भेटियो । यो सरासर ठगीधन्दा हो । यसले व्यक्तिलाई मात्र नभई महानगरपालिकालाई समेत ठग्यो । त्यसो हुँदा महानगरपालिकाले उसलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘नत्र हामी उजुरी लिएर अदालत पुग्छौँ । अख्तियार पुग्छौँ ।’ उनले ठगीमा संलग्न हुनेले भ्यु टावर बनाउन नसक्ने भन्दै बिकोईसँगको सम्झौता महानगरपालिकाले खारेज गर्नुपर्ने बताए ।

गलत निर्णयकै कारण आकासेपुलबाट रकम असुल
महानगरपालिकाकै मिलेमतोपछि जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले गोंगबुस्थित नयाँ बसपार्क र टुँडिखेल आसपास बनेका आकासेपुलबाट १५ वर्षदेखि प्रत्येक महिना ३८ लाख ३३ हजार रुपैयाँ असुल्दै आएका छन् । तर, महानगरपालिकालाई उनले रोयल्टीबापत प्रतिमहिना १ लाख ३३ हजार रुपैयाँ मात्रै बुझाउँछन् । महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत गणेश राईले भेटवाललाई ०६७ बाट लागू हुने गरी १८ वर्षका लागि आकासेपुलबाट भाडा उठाउन लिजमा दिएका थिए । यसबाट महानगरपालिकाले प्रत्येक वर्ष ४ करोड ३८ लाख रुपैयाँ गुमाउँदै आएको छ ।

यसबाहेक ठेकेदार कम्पनीले प्रत्येक आकासेपुलमा बहुराष्ट्रिय तथा स्थानीय कम्पनीको होर्डिङ बोर्ड लगाएको छ । यसबाट ठेकेदार कम्पनीले पुलका सटरबाट भन्दा पनि राम्रो रकम संकलन गर्छ । तर, कर तिर्दा न्यून कमाइ भएको विवरण महानगरपालिकालाई पेस गर्ने गर्छ ।

२०७६ वैशाख २४ गते मंगलवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु