किन निगमले पठाएको तेल बिलिङ भएभन्दा कम ?
काठमाडौं । नेपाल आयल निगमले नै पठाएको ट्यांकरमा बिलिङमा उल्लेख भएभन्दा कम तेल पाइएको छ । नेपाल आयल निगम नेपालगन्ज डिपो कार्यालयले पठाएको ट्यांकरको एउटा चेम्बरमा मापन उल्लेख भएभन्दा तीन पोइन्ट कम तेल भएको भेटिएको हो ।नेपालगन्ज डिपो कार्यालयमा १९ वैशाखमा बिलिङ भएको ट्यांकरमा २० हजार लिटर पेट्रोल रहेको उल्लेख छ । तर, १९ गतेकै राति नै दाङको लमही नगरपालिका–१ स्थित मिर्मिरे पेट्रोलपम्पमा आइपुगेको ट्यांकरमा रहेको पेट्रोलको नाप लिँदा एउटा चेम्बरमा तीन पोइन्ट कम भएको पाइएको हो ।
नेपाल पेट्रोलियम एसोसिएसनका मध्यपश्चिमाञ्चल अध्यक्ष विश्वराज खनालले भारतबाट सिलबन्दी भएर आएको पेट्रोलियम पदार्थ नेपालगन्ज डिपो कार्यालयबाट हराउने गरेको बताए । ‘एउटा चेम्बरबाट ३२ लिटर तेल गायब भएको छ,’ उनले भने, ‘यसरी बिलिङ भएभन्दा कम तेल बिक्री गर्नु आयल निगमको ठूलो बदमासी हो ।’ पेट्रोलपम्प सञ्चालक एवं नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन मध्यपश्चिमाञ्चलका उपाध्यक्ष किरण केसीले बदमासीमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
बिलिङमा उल्लेख भएभन्दा कम तेल पाइएपछि पेट्रोलपम्प सञ्चालकहरूले तीन दिनदेखि पेट्रोल झार्न मानेका छैनन् । निगम नेपालगन्ज डिपो कार्यालय, नेपाल पेट्रोलियम एसोसिएसन मध्यपश्चिमाञ्चलका पदाधिकारी, ढुवानी संगठनका पदाधिकारीहरूले लिएको नापमा पनि एउटा चेम्बरबाट ३२ लिटर पेट्रोल गायब भएको पाइएको थियो ।
आयल निगम नेपालगन्ज इन्धन डिपो कार्यालयका उपप्रबन्धक सुरेन्द्र विष्टले भने तापमान घटबढ हुँदा तेल घटेको दाबी गरे । ‘तरल पदार्थको नापमा केही घटबढ हुन्छ,’ उनले भने, ‘भारतको गोण्डामा त्यो ट्यांकरमा तेल लोड हुँदा तापक्रम ३७ डिग्री थियो । यहाँ साढे ३३ डिग्री भयो । तापक्रमले नापमा घटबढ हुन पुगेको हो ।’ निगमको नेपालगन्ज डिपोबाट दैनिक ३० देखि ४० ट्यांकरबाट ९९ वटा पेट्रोलपम्पमा तेल ढुवानी हुँदै आएको छ ।
२०७६ वैशाख २३ गते सोमवार १७:१४ बजे प्रकाशित