"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गाउँगाउँमा कोरोना फैलिएसँगै गाउँपालिका महासंघद्वारा सरकारलाई ५ बुँदे ध्यानाकर्षण

कारोना भाइरस (कोभिड–१९) संक्रमण ग्रामीण क्षेत्रमा समेत वृद्धि हुन थालेपछि गाउँपालिका महासंघले सरकारलाई ५ बुँदे ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले आइतबार जारी गरेको विज्ञप्तिमा सबै नागरिकलाई जतिसक्दो छिटो खोपको सुनिश्चितता गर्न र खोप आयातमा सबै प्रकारका उपायहरु अबलम्बन गर्न सरकारसँग अनुरोध गरिएको छ ।

यसैगरी भौगोलिक रुपमा ग्रामीण एवं दुर्गम क्षेत्रका रहेका नागरिकलाई समानुपातिक रुपमा खोपको वितरण प्रणाली अवलम्बन गर्न गर्न, दुर्गमका संक्रमितलाई हवाई माध्यमबाट उद्दार गरी उपचारको व्यवस्था गर्न, उचित बजेटको व्यवस्था गर्नलगायतका माग विज्ञप्तिमार्फत गरिएको छ ।

प्रेस विज्ञप्ती
कारोना भाइरस (कोभिड–१९)शुरुवाती चरणमा उच्च जनघनत्व भएका शहरी क्षेत्रमा भइरहेको संक्रमण फैलावटको दर पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत बृद्धि भएको छ । तसर्थ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल कोराना संक्रमण रोकथाम तथा उपचार लगायतका क्षेत्रमा देहायबमोजिमका विषयहरुमा नेपाल सरकार, प्रदेश सरकार एवं गाउँपालिकाहरुमा ध्यानाकर्षण एवं हार्दिक आव्हान गर्दछौं ।

१. सरकारले सबै नागरिकलाई जतिसक्दो छिटो खोपको सुनिश्चितता गर्न खोप आयातमा सबै प्रकारका उपायहरु अबलम्बन गर्न अनुरोध गर्दछौं ।
२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकले अनलाइन आवेदन गर्ने व्यवस्था गरेको छ तर ग्रामीण क्षेत्रका नागरिकको लागि यो अनलाइन आवेदन प्रणाली अत्यन्तै अव्यवहारिक छ । सरकारले व्यवस्थापन गरेको खोप शहर बजार र पहुँचयुक्त नागरिक भएको स्थानमा मात्र वितरण नगरी भौगोलिक रुपमा ग्रामीण एवं दुर्गम क्षेत्रका रहेका नागरिकलाई समानुपातिक रुपमा खोपको वितरण प्रणाली अवलम्बन गर्न अनुरोध गर्दछौं । जनसंख्याको आधारमा स्थानीय सरकारलाई खोप उपलब्ध गराई स्थानीय स्तरमै खोप अभियान चलाउन उपयुक्त हुनेछ ।

३. गोरखाको बारपाक जस्तो दुर्गम र घना बस्तीमा समेत कोरोना संक्रमण फैलिएको छ । दुर्गम क्षेत्रका संक्रमितहरुलाई स्थलमार्गबाट सुविधायुक्त अस्पतालमा ल्याउन बाटोको असुविधा र धेरै समय लाग्ने भई संक्रमितको बाटोमा नै मृत्यु हुने क्रम बढ्न जाने देखिन्छ । तसर्थ दुर्गम क्षेत्रको लागि निश्चित मापदण्ड बनाई जोखिममा रहेका संक्रमितहरुलाई हवाई माध्यमबाट उद्दार गरी उपचारको व्यवस्थाको लागि हार्दिक अनुरोध गर्दछौं ।

४.अप्रत्याशित रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बजेटमा व्यवस्था गरिएको भन्दा बाहिर गएर स्थानीय सरकारले खर्च गर्नुपर्ने बाध्यता परिरहेको छ । जसले एकातिर बजेटको संरचना नै खलबलिएको र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्न सकिरहेको छैन भने अर्कोतिर वित्तीय अनुशासनको हिसाबले यसरी खर्च गरिएको रकम बेरुजु हुने सम्भावना पनि रहेको छ । तसर्थ संबिधानले संक्रमण रोग संघीय सरकारको एकल अधिकारक्षेत्र भित्र पर्ने भएकोले यस कार्यमा स्थानीय सरकारले गरिरहेको खर्चलाई ससर्त अनुदानको रुपमा शोधभर्नाको रुपमा उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछौं ।

५. यस महामारीसँग जुध्न तीन तहकै सरकारबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारी बाँडफाँट नहुँदा संघीयताकै मर्म हराउँदै गएको देखिन्छ । एकातिर संघीय र प्रदेश सरकारका प्रतिनिधिहरु सामान्य स्वास्थ्य सामाग्री लिएर स्वास्थ्य चौकी धाउनेअर्कोतिर स्थानीय सरकार अनुमती देउ खोप किनेर ल्याउछु भन्दै सिंहदरबार धाउने ।यसरी तहगत सरकारहरु आ-आफ्नो जिम्मेवारीबाट अन्यत्र मोडिनु संघीयताको मर्म अनुकुलको कार्य होइन ।

प्राथमिक उपचार एवं सामान्य स्वास्थ्य सामाग्रीको व्यवस्थापन स्थानीय सरकारको दायित्व हो भने जटिल उपचार र खोपको व्यवस्थापन संघीय सरकारको जिम्मेवारी हो । तसर्थ तीन तहकै सरकारले परिभाषित र क्षमताभित्र पर्ने जिम्मेवारी अनुसारका दायित्व प्रभावकारी रुपमा निर्वाह गरी यो महामारीबाट पार पाउन प्रभावकारी समन्वयको लागि तीन तहकै सरकारमा हार्दिक अनुरोध र आव्हान गर्दछौं ।

अन्त्यमा, कोभिडको पहिलो भेरियन्टका समयमा स्थानीय सरकारले व्यापक काम गरेको हुनाले प्रशंसा पनि भएको थियो । खासमा गत सालको कामको प्रकृति नै काम संगै प्रचार गर्नु पर्ने खालको थियो । किनकी प्रचारले काममा नै बल पुग्दथ्यो । अहिलेको काम रोकथाम संगसंगै उपचारात्मक बढि रहेको छ । स्थानीय सरकारहरूले आफै भिटीएम खरिद गरी स्वाब संकलन गरेर पठाएकै कारण धेरै संख्यामा परीक्षण भएका छन् । स्थानीय सरकारहरूले सकि नसकि आइसोलेसनहरू सञ्चालन गरेकै कारण संक्रमण व्यापक बढ्दै गए पनि उपत्यका र शहरहरूमा दबाब कम हुदै गएका छन् । यसपटकको काम गत सालको भन्दा धेरै गुणा परिणाममुखी भैरहेको छ र परिणाम आउने काममा नै हाम्रो प्राथमिकता रहेछ ।

२०७८ जेठ १६ गते आइतवार ११:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु