"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

लेनदेनको हिसाब सुनाउँदा सुनाउँदै बुबा बिते, छोरा पनि रहेनन्

काठमाडौं, दाङ देउखुरीको गढवा गाउँपालिका–४ पर्सेनीमा कोरोना संक्रमणबाट पीडित एकै परिवारका तीन जनाको एक महिनाको अवधिमा मृत्यु भएको छ । तीनै जनाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका हुन् ।

यही वैशाख ११ गते अब्दुल कलामको कोरोना संक्रमणबाट ज्यान गयो । उनलाई गाउँमै ल्याएर मुस्लिम संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । त्यसको केही दिनपछि नै उनका भाइ मोहम्मद उमरलाई कोरोना संक्रमण पुष्टि भयो । उनको पनि उपचार गर्दागर्दै यही वैशाख २५ गते बेलझुण्डी अस्पतालमा मृत्यु भयो ।

त्यसको तीन दिनपछि मोहम्मदका २६ वर्षीय छोरा अहमद रज्जाकले बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन अभावका कारण ज्यान गुमाए । वैशाख २८ गतेको त्यो रात बेलझुण्डी अस्पतालमा उपचाररत रज्जाकसहित आठ जना बिरामीले अक्सिजन अभावमा ज्यान गुमाएका थिए ।

अहमद रज्जाक बुवा बिरामी हुँदा अस्पतालमा कुरुवा बसेका थिए । त्यही क्रममा उनी गम्भीर बिरामी परेपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । जेठो छोरो गइहाल्यो । माइलो छोरो अपांग छ । कान्छो छोरो सानै छ । श्रीमतीको काँधमा २५ लाख ऋणको भारी छ ।

गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् मोहम्मद उमरकै टोलवासी गुलाम मोहम्मद जागा भन्छन्, ‘यो अस्पतालमा म बाँच्दिन भन्ने लागेर होला मोहम्मदले आफ्नो ऋण–सापटीको हिसाबकिताब टिप्दै थिए ।

छोराले त्यो कुरा देख्यो । दुवै बाबु–छोरा अंगालो हालेर रोए । छोरो होपलेस भइहाल्यो ।’ त्यही बेलादेखि छोरो झन् बिरामी भएको र अस्पतालमै भर्ना गरेर उपचार गर्नु परेको वडाध्यक्ष गुलाम मोहम्मदको भनाइ छ ।

अब्दुल कलाम, उनका भाइ मोहम्मद उमर र उमरको छोरा अहमद रज्जाकको अन्त्येष्टि गाउँमै मुस्लिम परम्पराअनुसार गरिएको थियो । उनीहरु भैंसीको व्यापार गर्दथे । भारतको बलरामपुर क्षेत्रबाट उन्नत जातका भैंसी ल्याएर बेचबिखन गर्ने उनीहरुको पेशा थियो । अहिले एउटै घरका तीन सदस्यको मृत्यु भएपछि परिवार संकटमा छ ।

वडाध्यक्ष गुलाम मोहम्मद भन्छन्, ‘बाँचेर हेर बाँच्नलाई कति कठिन छ भनेजस्तो भएको छ । दाजु अब्दुल कलामको त केही हदसम्म ठीकै छ । तर उनका भाइ उमरको परिवारको भने बिचल्ली छ । जेठो छोरो गइहाल्यो । माइलो छोरो अपांग छ । कान्छो छोरो सानै छ ।’ २५ लाख रुपैयाँ ऋण छ भनेर परिवारका सदस्यहरुले भन्ने गरेको वडाध्यक्ष गुलाम मोहम्मदको भनाइ छ ।

अस्पतालदेखि अन्त्येष्टिसम्म प्रश्न

कतिपयले कोरोना संक्रमितको मृत्यु संस्कारमा सावधानी नअपनाइँदा परिवारका तीनजना गुमेको दाबी गर्दछन् । एक स्थानीयले भने, ‘वडाध्यक्षकै जोडबलमा आफैं अन्त्येष्टि गरियो । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना पनि नगरिंदा परिवारमा ठूलो क्षति भयो ।’

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रजित थारुले पनि त्यसैप्रति संकेत गरेका छन् । आफ्नो स्कुले साथी र उनका परिवारका सदस्य गुमाएको थाहा पाउँदा दुःख लागेको बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘कोरोना संक्रमितको लास व्यवस्थापनमा लापरवाही नहोस् ।

हामी सबैले पनि सतर्कता अपनाउनुपर्यो । साथै त्यो टोलको पीसीआर चेक गरी आवश्यक सुविधाको व्यवस्था गरियोस् । तर वडाध्यक्ष गुलाम मोहम्मद भने शवलाई घरमै ल्याएर अन्त्येष्टिको विधि पूरा गर्नु आफूहरुको बाध्यता रहेको सुनाउँछन् ।

यो बाध्यताको बीच पनि सावधानीका उपाय अपनाइएको उनको भनाइ छ । ‘मलाई लागेको आरोपबारे जानकार छु । तर आरोप लगाउनेहरुको मुखमा बुझो लगाउन सकिन्न’ गुलाम मोहम्मदले भने, ‘हाम्रो परम्परामा पूजापाठ लगायतका केही विधि पूरा गर्नैपर्ने बाध्यता छ । तर पनि भौतिक दूरी कायम राख्नेलगायतका काम गरेकै थियौं ।’

मृतक परिवारका छिमेकीसमेत रहेका वडाध्यक्ष मोहम्मदले परिवारका तीन सदस्यमध्ये रज्जाकको मृत्युमा अस्पताल प्रशासन दोषी रहेको आरोप लगाए । उनले अक्सिजन आफैं जोहो गरेर समयमै पुर्याइदिंदा पनि अस्पतालले समयमै नजोडिदिंदा रज्जाकको ज्यान गएको आरोप लगाए ।

उनको भनाइ छ, ‘रज्जाकलाई कोरोना लागेकै छैन भनेर अस्पतालको व्यवस्थापकले हाम्रा स्थानीय अगुवा र नेताहरुलाई भनेका थिए । पछि फेरि अक्सिजन तुरुन्त दिनुपर्ने भयो भने । यताउता भनसुन गरेर अक्सिजनको व्यवस्था पनि गरियो तर समयमै नजोडिदिंदा ज्यान गयो ।’

हामी निरीह छौं: अस्पताल

यद्यपि बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल व्यवस्थापक द्रोण ओली भने लमहीको आइसोलेसन सेन्टरबाट बेलझुण्डी ल्याउने बेलामै उनको अवस्था गम्भीर रहेको बताउँछन् । ‘उनलाई लमहीबाट ल्याउने बेला नै ठूलो अक्सिजन जोडेर ल्याइएको थियो । अवस्था गम्भीर भएकाले लमहीले नसकेर हामीकहाँ पठाएको थियो । यहाँ जसोतसो गरेर बेड त मिलाइयो तर अक्सिजन अभावमा आठ जना बितेको दिन उनी पनि बिते ।’

उनले भने, ‘पीडित परिवारले हामीलाई दोष लगाउनु स्वाभाविक छ तर हामी निरीह छौं किनभने सरकारले नै हामीलाई अक्सिजन दिंदैन । जम्मा एक सय सिलिण्डरको कोटा सरकारले तोकिदिएको छ । हिजो नेपालगञ्जबाट जम्मा ७० सिलिण्डर आयो । त्यसले आज १२ बजेसम्म मात्र धान्छ ।’

२०७८ वैशाख ३१ गते शुक्रवार १२:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु