"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोभिशिल्डको अन्योल कायमै, चिनियाँ खाेप भोलिदेखि बन्द

नेपाल सरकारले नेपालका ७२ प्रतिशत जनतालाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएको थियो । प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी अधिकारीहरु यो दाबीलाई पटक–पटक दोहोर्याउँथे ।

तर, आज सरकारको दाबी र वास्तविकतामा आकाश जमिनको अन्तर देखिन्छ । खोप केन्द्रमा गएर हेर्ने हो भने खोप अभियान कति भद्रगोल छ भने प्रष्ट देखिन्छ । यतिबेला कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउन खोप केन्द्रहरुमा हानथाप छ भने यसअघि पहिलो डोज लगाएर बसेका जनता दोस्रो डोज पाउने हो कि नपाउने हो भन्ने अन्योलमा छन् ।

​कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलन थालेपछि खोपप्रति सर्वसाधारणको चासो बढ्दो छ । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि एक लाख मात्रा बाँकी रहँदा उपत्यकाका सिमित खोप केन्द्रमा सर्वसाधारणको खचाखच भीडले भरिएको छ ।

कोरोना संक्रमितले अस्पतालमा भर्ना पाउन मुस्किल हुन थालेपछि खोप लगाउन इच्छुक व्यक्ति खोप केन्द्रमा टन्टलापुर घाममा लामबद्ध छन् । तर, अब सरकारसँग भेरोसेल खोप ४ लाख ५० हजार मौज्दातमात्रै बाँकी छ । जुन दोस्रो डोजका लागि स्टक राख्न आवश्यक हुन्छ ।

खोप अभियानको प्रथम चरणमा पहिलो प्राथमिकतामा पर्ने फ्रन्टलाइनरहरु नै खोप लगाउन हिच्किचाइरहेका थिए । गत माघ महिनामा कोरोना संक्रमण न्यून संख्यामा देखिँदा भारत सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको कोभिशिल्ड खोप लगाउन त्रसित थिए ।

सरकारले खोप अभियानको पहिलो चरणको पहिलो प्राथमिकतामा पर्नेलाई १० दिनको अवधिका ४ लाख ३० हजारलाई खोप दिने लक्ष्यसहित अभियान चलाउँदा नवौँ दिनसम्म ३७ प्रतिशतले मात्रै खोप लगाएका थिए । पछि, संक्रमण बढ्न थालेपछि भने विस्तारै खोप लगाउनेको संख्या बढेको थियो ।

​परिवार कल्याण महाशाखा अन्र्तगत, खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोप पहिलो मात्रा २० लाखभन्दा बढीले लगाएका छन् । कोभिशिल्डको खोपको दुबै मात्रा करिब ४ लाख जनाले लगाइसकेको उनको भनाइ छ ।

चैत्र २५ गतेबाट शुरु भएको खोप अभियानमा चीनबाट प्राप्त भेरोसेल खोप करिब ३ लाख जनाले लगाएको पनि उनले जानकारी दिए । भारत सरकारको अनुदान सहयोगमा कोरोनाविरुद्धको खोप १० लाख डोज, सरकारले खरिद गरेको १० लाख डोज र कोभ्यासमार्फत ३ लाख ४८ हजार डोज गरी २३ लाख ४८ हजार डोज खोप नेपालमा भित्रिएको छ । यस्तै चीन सरकारको अनुदान सहयोगमा ८ लाख डोज भेरोसेल खोप नेपालले प्राप्त गरेको छ ।

कोभिशिल्डको अन्योलता कायमै

नेपालले भारतसँग खरिद गरेको १० लाख डोज कोभिशिल्ड खोप कहिले आउने भन्ने टुङ्गो लाग्न सकेको छैन । कोभिशिल्ड खोप अभावमा खोप अभियान नै रोकिएको छ । त्यसयता सरकारले पटक–पटक खोप आउने मिति तोके पनि खोप आउन सकेको छैन । यद्यपि स्वास्थ्य मन्त्रालयलले भने कोभ्याक्स सुविधाको खोप भने आउने तयारीमा भइरहेको भन्न छाडेको छैन ।

सरकारले भारतसँग कमर्सियल मूल्यमा ५० लाख कोभिशिल्ड खोप खरिद गर्ने तयारी पनि गरिरहेको थियो । तर, यसमा पनि एजेन्ट जबर्जस्ती छिर्न खोजेको भन्दै स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको सर्वाजनिक कार्यक्रममा नै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले असन्तुष्टि जनाएका थिए ।

अहिले भारतमा कोरोना संक्रमण उच्चविन्दुमा रहेको बेला सेरम इस्सिच्युटमार्फत् उत्पादित खोप विदेशमा निर्यात नै रोकेको छ । कोभ्याक्स सुविधामार्फत कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने करिब ६० लाख डोज खोप उपलब्ध गराउने भनिएपनि मध्ये हालसम्म ३ लाख ४८ हजार खोपमात्रै नेपालले प्राप्त गरेको छ ।

कोभिशिल्ड खोप दुई डोज लगाउनुपर्छ । तर, फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएका करिब १६ लाख नागरिकले दोस्रो मात्रा कहिले पाउँछन् अनिश्चित जस्तै छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जोगेश्वर गौतममा अनुसार भारतसँग खरिद गरेको १० लाख डोज कोभिशिल्ड खोप कहिलेसम्म आइपुग्छ भन्ने अझै टुंगो लागेको छैन । कोभ्याक्स सुविधामार्फत नेपालले प्राप्त गर्ने कोभिशिल्ड खोप, खरिद गरेको १० लाख डोज खोप आयातको सम्बन्धमा छलफल भइरहेको उनले बताए ।

भेरोसेल खोप अभियान भोलिदेखि बन्द

उपत्यकाका सिमित स्थानमा भेरोसेल खोप अभियान सञ्चालन भइरहेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप चैत्र २५ गतेदेखि २३ सम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन गरिएको थियो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई दिइएको थियो ।

यस्तै भेरोसेल खोप यस्तै यसअघि लगाउन छुटेका अग्रपङ्क्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफूल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुले लगाएका छन् ।

चिनियाँ भेरोसेल खोप करिब ३ लाखले लगाएपछि उपत्यकाका सिमित अस्पतालबाट आम सर्वसाधारणका लागि खुल्लारुपमा दिन सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अबको दुई दिनमा भेरोसेल खोपको पहिलो मात्रा दिने कार्यक्रम स्थगित गर्ने खोप शाखाका प्रमुख डा.गौतमले बताए ।

२०७८ वैशाख १५ गते बुधवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु