"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोना भाईरस नियन्त्रण बाहिर अमेरिकी र जापानी पनि मृत्यु

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेको बढ्यै छ । भाइरस नियन्त्रण गर्न सरकारको तीव्र प्रयासका बाबजुद पछिल्लो चार दिनमा संक्रमितको संख्या दोब्बर भएको छ । शनिबारसम्म चीनमा भाइरसका कारण मृत्यु हुनेको संख्या ७२२ पुगेको छ भने भाइरस संक्रमितको संख्या ३५ हजार नाघेको छ । शनिबार थप ३५ सयजनामा भाइरसको संक्रमण देखिएको छ ।

डिसेम्बरकोे अन्त्यमा हुवेई प्रान्तको वुहान सहरस्थित एउटा पशु बजारबाट फैलिएको अनुमान गरिएको सो भाइरस अहिले चीनबाहेक २६ मुलुकका २७० जनामा देखिएको छ ।

वुहानमा बस्ने जापानी र अमेरिकीको मृत्यु
भाइरसबाट जापानी र अमेरिकी नागरिकको पनि मृत्यु भएको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । ६० वर्षीय एक अमेरिकी नागरिकको वुहानमा मृत्यु भएको छ । उनीबारे थप विवरण सार्वजनिक गरिएको छैन । त्यसैगरी, अर्का एक ६० वर्षीय जापानीको पनि कोरोना भाइरसकै कारण वुहानमा मृत्यु भएको छ । यसअघि भाइरसबाट हङकङ र फिलिपिन्समा एक–एकजनाको मृत्यु भएको थियो । उनीहरूमध्ये एक हङकङका र अर्का चिनियाँ नागरिक हुन् ।

हङकङ उत्रनेलाई क्वारेन्टाइनमा राखिँदै
महामारीको स्वरूप लिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न हङ्कङले चीनबाट आउने जो–सुकैलाई दुई हप्ता क्वारेन्टाइनमा राख्न सुरु गरेको छ । चीनबाट हङकङ जानेका लागि होटेलका कोठा वा सरकारले सञ्चालन गरेका केन्द्रमा एक्लै बस्नुपर्नेछ । नयाँ नियम उल्लंघन गर्नेलाई जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको छ । हङकङमा २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

वुहानमा थप ११ हजार स्वास्थ्यकर्मी
कोरोना भाइरसबाट अतिप्रभावित वुहानमा सरकारले थप ११ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ । उनीहरूमध्ये तीन हजारजना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । भाइरसको संक्रमणसँग जुध्न प्रशासनले आक्रामक शैली अपनाएको छ । बुहान प्रहरीले अहिले कोरोनाभाइरस संक्रमित पहिचान गर्न घर–घरमा स्वास्थ्य अधिकारी पठाएको छ ।

नयाँ संक्रमण दर बढ्दो
भाइरसबाट नयाँ संक्रमित व्यक्तिको संख्या बढ्दो छ । बिहीबार कुल २८ संक्रमितमध्ये नयँँ संक्रमित ३ हजार थिए । त्यस्तै, शुक्रबार नयाँ संक्रमितको संख्या ३१ सय ४३ हुँदा कुल संक्रमितको संख्या ३० हजार नाघेको थियो । त्यसैगरी, शनिबार कूल ३५ हजार संक्रमितमध्ये नयाँ संक्रमित ३५ सय छन् ।

२०७६ माघ २६ गते आइतवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु