"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नयाँ दिल्लीकाे वायु प्रदूषण अहिलेसम्मकै उच्च

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार दिल्लीको वायु प्रदूषणको मात्रा अघिल्ला दिनका तुलनामा बढेको र हावाको प्रदूषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स (एक्युआई) बढेर पाँच सय पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो । दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २० गुणा बढी भेटिएको स्वास्थ्य अधिकारीले बताएका छन् ।

अति खराब वायु
एक्युआई पाँच सय पुग्नुको अर्थ हावामा प्रदूषित वायुको मात्रा अति खराब भन्ने बुझिन्छ । हरियाणा राज्यको गुरुग्राम नगर र उत्तर प्रदेश राज्यको नोइडाको वायु सबैभन्दा प्रदूषित बनेको छ । बुधबार बिहान यी दुई नगरमा गरिएको मापनले वायु प्रदूषणले हद नाघेको देखाएको छ । सो मापनअनुसार ० देखि ५० सम्मको एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआईलाई कमजोर मानिन्छ । त्यस्तै ३०० देखि ४०० सम्मको एक्युआईलाई अति कमजोर र ४०० देखि ५०० एक्युआईलाई एकदमै खराब वायु मानिन्छ । ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई आपत्कालको अवस्थाका मानिन्छ । यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ । दिल्लीको वायु पनि ५०० एक्युआई पुगको छ ।

जनजीवन कष्टकर बन्दै 
वायु प्रदूषणले जनजीवन कष्टकर बनेको छ । प्रदूषणका कारण केही सातादेखि सडक र वरपरको क्षेत्रका निर्माण कार्य ठप्प छन् भने अन्य दैनिक आवश्यकताका वस्तुको आपूर्तिमा समेत कठिनाइ भइरहेको छ । वायु प्रदूषित भएकाले उत्पन्न स्वास्थ्य समस्या आउने भन्दै केही दिन विद्यालय बन्द गरिएको छ । प्रदूषणले बालबालिकाको स्वास्थयमा गम्भीर असर पारेको छ । प्रदूषणका कारण मुटु र श्वासप्रश्वासका बिरामी बढेका छन् ।

चिसो मौसमसँगै खस्कियो वायुको गुणस्तर
अघिल्ला वर्षजस्तै यसपटक पनि चिसो मौसमको सुरुवातसँगै दिल्लीको वायुको गुणस्तर खस्किएको छ । सवारीसाधन तथा कलकारखानाबाट निस्कने धुवाँ, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उत्पादन बाल्दा निस्कने धुवाँले वातावरणलाई झन् प्रदूषित बनाएको छ । नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले प्रदूषणले बिकराल रूप लिएको भन्दै नियन्त्रणका लागि तत्काल पहल गर्न केन्द्रलाई अनुरोध गर्दै आएका छन् ।

साढे चार करोड जनसंख्या रहेको दिल्लीमा सरकारले एक सातादेखि यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । सवारी साधनबाट हुने प्रदूषणको मात्रालाई रोक्न यो प्रणाली लागू गरिए पनि वायुको गुणस्तरमा खासै सुधार नआएको बताइन्छ ।

२०७६ कात्तिक २८ गते बिहीवार १४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु