"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

वायु प्रदूषणले भारतको जनजीवन अस्तव्यस्त

एजेन्सी । बढ्दो वायु प्रदूषणका कारण राजधानी नयाँदिल्लीको जनजीवन अस्तव्यस्त बनेको छ । सोमबार प्रदूषणको मात्रा झन् बढेपछि जनजीवन अस्तव्यस्त बनेको हो । प्रदूषण बढेपछि एक सातादेखि हरियाणा, पन्जाब र नयाँदिल्लीका विद्यालय बन्द छन् भने सरकारले सोमबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । दिल्लीको आकाशमा देखिएको तुवाँलोले बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालय बन्द गरिएको हो । प्रदूषणले हद नाघेको भन्दै वातावरणविद्को समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तत्काल उपर्युक्त कदम चाल्न आग्रह गरेको छ । प्रदूषणका कारण निर्माण कार्य ठप्प छन् भने अन्य दैनिक आवश्यक सामग्रीको आपूर्तिमा कठिनाइ भएको छ । सवारी साधन, किसानले बालेको आगो र औद्योगिक उत्पादनको धुवाँधुलोले दिल्लीको आकाश ढाकिएको छ ।

तीन वर्षयताकै घातक प्रदूषण 
हरेक चिसो मौसमको सुरुवातसँगै यस वर्ष पनि नयाँदिल्लीको आकाशको मौसम बिग्रिएको छ । प्रदूषण गएको तीन वर्षयताकै सबैभन्दा उच्च छ । नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले प्रदूषणका कारण दिल्लीको अवस्था अत्यन्तै खतरनाक भएको बताएका छन् ।

स्वास्थ्य आपत्काल
प्रदूषण बढेपछि डेढ साताअघि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो । वायु प्रदूषणको मात्रा बढ्न थालेपछि यसै साता दिल्लीका विद्यालयमा मास्क वितरण गरिएको थियो । तर, मास्कले पनि थेग्न नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् । दीपावलीपछि दिल्लीको हावाको गुणस्तरमा गिरावट आएको र श्वासप्रश्वासमा नै समस्या हुन थालेको छ । चिसो र श्वासप्रश्वासका बिरामीले अस्पतालमा भिड हुन थालेको छ ।

मापदण्ड भन्दा बढी धुलो
दिल्लीको हावामा प्रदूषित हावामा धुलोको कणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँदिल्लीको आकाशमा बढी मात्रामा प्रदूषण देखिएको धेरै वर्ष भइसकेको छ । प्रदूषणका कारण सास फेर्न कठिनाइ भएको र दिल्ली ग्यास च्याम्बर बनेको वातावरणविद्ले बताएका छन् । प्रदूषण बढेपछि जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

प्रदूषण बन्ने भयो चुनावी एजेन्डा
नयाँदिल्लीमा आगामी वर्ष राज्यसभाको निर्वाचन हुँदै छ । चुनावको मुख्य एजेन्डा नयाँदिल्लीको प्रदूषण हुने बताइएको छ । नयाँदिल्लीमा औद्योगीकरणको मात्रा निकै बढेको भन्दै प्रदूषण रोक्न राजनीतिक दल र सरकारले नै एकअर्कालाई दोषारोपण गरिरहेका छन् । हावर्ड विश्वविद्यालयका पर्यावरणीय अर्थशास्त्रीले संयुक्त रूपमा गरेको एक अध्ययनअनुसार देशको प्रदूषण कम गर्दै वायुको गुणस्तर कायम गर्न सके दिल्लीका करोडौँ बासिन्दाको औसत आयु ३ दशमलव २ वर्षले बढ्ने जनाइएको छ ।  किसानले अन्नका ठुटा बालेर प्रदूषण बढेको बताइएको छ  । नयाँदिल्लीको जनसंख्या चार करोड ५० लाख छ ।

जोर–बिजोर प्रणाली
प्रदूषण बिकराल बन्दै गएपछि दिल्लीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले वातावरण प्रदूषण रोक्न सरकारले लागू गरेको जोर–बिजोर प्रणाली सफल पार्न नागरिकलाई आग्रह गरेका छन् । ‘प्रिय दिल्लीवासीहरू, आजबाट निजी चारपांग्रे सवारी साधनका लागि जोर–बिजोर तथा कारपुलिङ प्रणाली कार्यान्वयनमा आएको छ,’ केजरिवालले भनेका छन ।

२०७६ कात्तिक २० गते बुधवार १५:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु