"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रसिया र टर्कीबीच ऐतिहासिक सहमति

एजेन्सी, मस्को । सिरियाको टर्कीसँगको सीमाबाट कुर्दिस फौजलाई टाढा राख्न टर्की र रसियाबीच ऐतिहासिक सहमति भएको छ । उत्तरी सिरियामा सुरक्षित क्षेत्र सिर्जना गर्ने भन्दै टर्कीले उत्तरी सिरियामा गरेको कारबाही रोकिरहेका वेला दुई देशबीच महत्वपूर्ण सहमति भएको जनाइएको छ । टर्कीका राष्ट्रपति रेसेप तेइप एड्रोगान र रसियाली राष्ट्रपति भ्लादिमर पुटिनबीच मंगलबार सोचीमा भएको ६ घन्टा लामो वार्तापछि दुई देशबीच यस्तो सहमति भएको हो । अमेरिकी पहलमा सिरिया र टर्कीबीच भएको युद्धविराम शनिबार सकिएलगत्तै टर्कीले कुर्दमाथि भीषण आक्रमण गर्ने चेतावनी दिएको छ ।

सम्झौताअनुसार सिरियाली र रसियाली फौजले तत्कालै सो क्षेत्रबाट कुर्द लडाकु हटे नहटेको विषयमा निगरानी गर्नेछन् । दुई देशबीच भएको सहमतिको कुर्दिस लडाकुले कुनै प्रतिक्रिया जनाएका छैनन् । सम्झौताबमोजिम अर्को सातादेखि टर्की र सिरियाको सीमामा टर्की र रसियाली सेनाले गस्ती गर्ने योजना तय भएको छ ।

अमेरिकी सेना हटेपछि अस्थिर उत्तर सिरिया
अमेरिकी सेनाले तीन साताअघि उत्तरी सिरियाबाट आफ्ना सेना फर्काउने अचानक घोषणा गरेपछि टर्कीले कुर्दविरुद्ध आक्रामक कारबाही सुरु गरेको थियो । अमेरिकी सेना फर्किएसँगै सो क्षेत्रमा टर्की र रसियाको प्रभाव बढ्ने अनुमान गरिएको छ । अमेरिकी सेनाले कुर्दहरूलाई सहयोग गरेका थिए भने आइएसविरुद्धको लडाइँमा कुर्दले अमेरिकालाई सहयोग गरेको थियो । अमेरिकी सेना उत्तरी सिरियाबाट फर्किएसँगै कुर्दहरूले अमेरिकाले आफूहरूलाई धोका दिएको गुनासो गर्दै आएका छन् ।

के छ टर्कीको योजना ?
आफ्नो आक्रामक कारबाहीमा सुरक्षित क्षेत्र बनाउने आफ्नो पूर्ववत् योजनाअनुसार टर्कीले रास अल एइन र तल अबयादको बीचमा रहेको १२० किलोमिटर भूमिलाई टर्कीले कब्जा गरेको थियो । सो क्षेत्रमा सिरियाबाट भागेर हाल टर्कीमा शरण लिएका २० लाख शरणार्थीलाई पुनस्र्थापना गर्ने र कुर्दहरूलाई त्यहाँबाट खेद्ने टर्कीको योजना छ ।

सोचीमा के सहमति भएको थियो ?
सम्झौताअनुसार रसियाले उत्तरी सिरियासँगको सिमानामा टर्कीका फौजलाई राख्न दिने र सो क्षेत्रलाई दुई देशका सेनाले नियन्त्रणमा लिने सहमति भएको छ । बुधबार मध्याह्नदेखि लागू हुने गरी कुर्दहरूलाई सीमाबाट ३२ किलोमिटर पर जान थप १५० घन्टाको समय दिइएको छ । कुर्दहरूको ठूलो जनसंख्या भएको क्वामिस्लीलाई समावेश गरिएको छैन । अक्टोबर २९ मा १५० घन्टाको समयसीमा सकिएपछि टर्की र रसियाली फौजले संयुक्त गस्ती गर्नेछ । कुर्द फौजलाई मानबिजी र तल रिफात (मानबिजीबाट ५० किलोमिटर पश्चिम)बाट हटाइने रसिया र टर्कीद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

असदको चासो
संयुक्त विज्ञप्तिप्रति कुर्द लडाकु र राजनीतिक दलका नेताले तत्काल कुनै टिप्पणी गरेका छैनन् । सिरियाली राष्ट्रपति बसर अल असदले सिरियामा बढेको विदेशी हस्तक्षेपप्रति चासो देखाएका छन् । तर, रसियाली प्रशासन क्रेमलिनले असदले राष्ट्रपति पुटिनलाई धन्यवाद दिएको र टर्की र सिरियाको कदमलाई पूर्ण समर्थन गर्ने तथा रसियाली सेनासँग सिरिया र टर्कीको सीमामा आफ्ना सीमागार्ड पठाउन उत्सुक भएको दाबी गरेको छ ।

परिणाम के होला ?
राष्ट्रसंघका अनुसार टर्कीको भीषण कारबाहीमा ३० लाख बसोवास गर्ने उत्तरी सिरियाबाट पछिल्लो दुई सातामा १ लाख ७६ हजार मानिस विस्थापित भएका छन् । तीमध्ये ८० हजार बालबालिका छन् । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर) टर्कीको कारबाहीमा १२० सर्वसाधारण, २५९ कुर्द लडाकु, र १९६ टर्कीले समर्थन गरेको सिरियाली विद्रोही तथा सातजना टर्कीका सेना मारिएका छन् ।

२०७६ कात्तिक ७ गते बिहीवार १४:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु