अमेरिका चीनबीच फेरि चर्कियो व्यापार युद्ध
एजेन्सी । चीनको सांघाईमा भएको अमेरिका(चीन व्यापार वार्ता सकिएलगत्तै दुई मुलुकबीचको व्यापार युद्ध झनै चर्किएको छ।
अमेरिकी वार्ताकारहरू अमेरिका पुग्नेबित्तिकै राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको वार्तामा प्रगति नभएको भन्दै थप ३०० अर्ब डलर बराबरका चिनियाँ सामानमा नयाँ कर लगाउने घोषणा गरेका छन्।
ट्रम्पले आउने सेप्टेम्बरदेखि चीनबाट आयात हुने थप ३०० सय अर्ब डलर बराबरका सामानमा १० प्रतिशतले कर लगाउने बताएका छन्।
यसअघि अमेरिकाले चीनबाट आयात हुने २ सय ५० अर्ब डलर बराबरका सामानमा २५ प्रतिशत कर लगाइसकेको छ। थप ३०० अर्ब डलर बराबरका सामानमा पनि कर लगाएपछि अमेरिकाले चीनबाट आयात हुने लगभग सबै सामानमा कर लाग्नेछ।
अमेरिकाले पहिलो पटक सन् २०१८ को जुन महिनामा २ सय ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। त्यो कर सन् २०१९को जनवरीमा बढाएर २५ प्रतिशत पुर्याएको थियो।
त्यसपछि चर्कँदो ‘व्यापार युद्ध’ साम्य पार्न दुबै मुलुकका प्रतिनिधिहरूले धेरै पटक छलफल गरेका छन्। तीन महिनाअघि दुबै मुलुक सहमति नजिक पुग्न लागेको खबर आएका थिए। तर सम्झौता भने हुन सकेन।
अमेरिकाले दुई मुलुकका वार्ता टोलीबीच भएका सहमतिबाट चीन एकाएक पछि हटेको दाबी गरेको थियो भने चीनले त्यसको खण्डन गर्दै आएको छ।
त्यसपछि लामो समय वार्ता हुन सकेन। गत जुनमा जापानको ओसाकामा भएको जी(२० मुलुकहरूको शिखर सम्मेलनका बेला ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटेर व्यापार वार्ता पुनः सुरू गर्न सहमति जनाएका थिए।
त्यही भेटको परिणामस्वरूप दुबै देशका प्रतिनिधिबीच केही दिनअघि सांघाईमा वार्ता भएको थियो।
केही महिनाअघि सम्म व्यापार वार्ता टुंगोमा पुर्याउन हतारिएको चीन अहिले त्यस्तो हतारोमा देखिन्न।
‘व्यापार युद्ध’ले चीनलाई अनुमान गरिएजस्तो असर नपुर्याउने भएपछि चीनले हतारमा सम्झौता नगर्ने रणनीति लिएको टिप्पणी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्।
ट्रम्पलाई भने सन् २०२० मा राष्ट्रपतीय चुनावको हतारो र चिन्ता छ। पहिलो पटक चुनाव लड्दा उनले चीनसँगको व्यापार घाटालाई प्रमुख मुद्दा बनाएका थिए। अमेरिकाको पक्षमा सम्झौता टुंग्याउन पाए चुनावमा ट्रम्पलाई ठूलो फाइदा पुग्छ।
व्यापार युद्धले अमेरिकामा सबैभन्दा ठूलो मार भटमास उत्पादक किसानहरूलाई पुर्याएको छ। चीन अमेरिकाको सबैभन्दा ठूलो भटमास आयातकर्ता हो। अमेरिकी किसान राष्ट्रपति ट्रम्पका ठूला समर्थक हुन्।
चीनले पनि अमेरिकाले आफ्ना आयातमा लगाएको शुल्कको बदलामा अमेरिकाबाट आयात हुने भटमास लगायतका वस्तुमा कर थपेको छ।
जापानमा राष्ट्रपति सीसँगको भेटमा ट्रम्पले चीनलाई अमेरिकाबाट तत्काल ठूलो परिणाममा भटमास किन्न मनाउने प्रयास गरेका थिए।
यसपालिको सांघाई वार्तामा पनि चीनले अमेरिकाबाट भटमास किन्ने कुरामा कुनै आश्वासन नदिए पछि ट्रम्प रिसले चुर भएका छन्।
चीनले पनि अब अमेरिकी राष्ट्रपतिको चुनाव सकिनुअगाडि सम्झैतामा पुग्न चासो नदेखाउने धेरैको विश्लेषण छ।
२०७६ साउन १७ गते शुक्रवार १३:१८ बजे प्रकाशित