इरान र अमेरिकाबीचको विवाद चर्किदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सैनिकलाई इरानमाथि आक्रमण गर्ने स्वीकृति आफैंँ रोक्न आदेश दिएका छन् । अमेरिकी प्रशासनको यो आदेशपछि मध्यपूर्वमा एउटा ठूलो आक्रमण टरेको छ । यसअघि इरानले बिहीबार बिहान एक सय १३ मिलियन डलर मूल्य पर्ने मानवरहित अमेरिकी ड्रोनमाथि हमला गरेको थियो ।
आफ्नो जलक्षेत्रमा घुसेका कारण हमला गरिएको इरानको दाबी छ । यता, अमेरिकाले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जलक्षेत्रभित्रै रहेको दाबी गरेको छ । ‘अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडिरहेको हाम्रो ड्रोन उनीहरूले खसाले । हामी गए राति बदला लिने तयारीमा थियौँ । मैले सोधेँ, ‘आक्रमणमा कति जनाको मृत्यु हुनेछ, जर्नेलले एक सय ५० जनाको भने ।’ त्यसपछि हमला हुनभन्दा १० मिनेटअघि रोक्न लगाएँ,’ ट्रम्पले ट्विटरमा लेखेका छन् । राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
युद्धको खतरा
गत वर्ष ट्रम्प प्रशासनले परमाणु सम्झौताबाट बाहिरिने निर्णय गरेपछि इरान र अमेरिकाबीचको सम्बन्ध दिनप्रतिदिन बिग्रँदो अवस्थामा छ । सन् २०१५ को परमाणु सम्झौताबाट बाहिरिएसँगै अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएको छ । त्यस्तै, इरानको आर्थिक कारोबार रोक्न अन्य देशहरूलाई दबाब दिँदै आएको छ । सत्ता परिवर्तन गर्ने उद्देश्यले अमेरिकाले चौतर्फी घेराबन्दी गरेको इरानको आरोप छ । ट्रम्पले शासन परिवर्तन गर्नेभन्दा पनि इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्ने लक्ष्य रहेको दाबी गरेका छन् । पछिल्लो महिना अमेरिकाले मध्यपूर्वमा सैनिक संख्या बढाएसँगै विवादले युद्धको रूप लिने खतरा देखिएको छ । यसअघि गत साता ओमानको खाडीमा जापान र नर्वेको स्वामित्वमा रहेका तेलका ट्यांकरमाथि भएको आक्रमणमा पनि इरान संलग्न रहेको अमेरिकाको आरोप छ ।
२०७६ असार ७ गते शनिवार १०:४४ बजे प्रकाशित