भारत र पाकिस्तानबीच फेरि तनाव
एजेन्सी । भारतले आफ्ना कूटनीतिक अधिकारीलाई पाकिस्तानी सुरक्षा निकायले दुव्र्यवहार गरेको आरोप लगाएको छ । राजधानी इस्लामावादस्थित भारतीय दूतावासमा आयोजित एक कार्यक्रममा पुगेका आफ्ना सयौँ पाहुनालाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेको र नयाँदिल्लीका केही कूटनीतिज्ञलाई धम्की दिएको भारतले दाबी गरेको छ । भारतमा नरेन्द्र मोदीले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएको केही दिनपछि भारत र पाकिस्तानबीच कूटनीतिक तहमा विवाद उत्पन्न भएको हो ।
के आरोप छ भारतको ?
‘इस्लामावादस्थित लक्जरी सेरेना होटेलमा डिनरका लागि भेला भएका पाहुनाले पाकिस्तानी सुरक्षा निकायबाट अकल्पनीय दुव्र्यवहार र धम्कीको सामना गर्नुपरेको छ,’ इस्लामावादस्थित भारतको उच्च आयोगले भनेको छ । केही पाहुनाको पार्किङ गरिएका कारलाई ट्रकमा राखेर लगिएको भारतको भनाइ छ ।
पाकिस्तानले आफ्ना झन्डै तीन सय पाहुनालाई शनिबारको डिनर कार्यक्रममा जान वञ्चित गरेको भारतले जनाएको छ । मुसलमानहरूको पवित्र महिना रमदानको अवसरमा आयोजित इफतार डिनरमा पाकिस्तानस्थित विभिन्न दूतावासका अतिथिलाई भारतले बोलाएको थियो ।
अनुसन्धान गर्न माग
आफ्ना कूटनीतिज्ञमाथि भएको दुव्र्यवहारबारे अनुसन्धान गर्न इस्लामावादस्थित उच्च आयोगले पाकिस्तानसमक्ष माग गरेको छ । दूतावासले आयोजना गरेको कार्यक्रममा आफ्ना केही अधिकारी र कूटनीतिज्ञलाई नियोजित रूपमा धकेलेको, दुव्र्यवहार गरेको र शारीरिक रूपमा आक्रमणको चेतावनी दिएको भारतको दाबी छ । कार्यक्रममा सहभागी हुन हिँडेका केही अधिकारीको फोन पाकिस्तानी सुरक्षाकर्मीले खोसिदिएको पनि भारतले दाबी गरेको छ ।
‘जुन १ मा भएको शृंखलाबद्ध घटनाले कूटनीतिक आचरणको आधारभूत मान्यताको उल्लंघन मात्र गरेको छैन, बरु त्यसले सभ्य आचरणका सम्पूर्ण धारणा उपहास गरेको छ,’ भारतीय उच्च आयोगले एक विज्ञप्तिमा भनेको छ । भारतीय दाबीबारे पाकिस्तानी विदेश मन्त्रालयले कुनै टिप्पणी गरेको छैन ।
तनावपूर्ण सम्बन्ध
भारत र पाकिस्तानबीच कूटनीतिक तहमा दरार आएको यो पहिलोपटक होइन । यसअघि नयाँदिल्लीस्थित पाकिस्तानी उच्च आयोगबाहिर पाकिस्तानले राष्ट्रिय दिवस मनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गरेको इस्लामावादले गुनासो गरेको थियो । विभिन्न भारतीय सञ्चारकर्मी र भारतका पूर्वकर्मचारी सहभागी रहेको सो कार्यक्रमबाहिर सादा पोसाकका भारतीय सुरक्षाकर्मी परिचालन भएका थिए ।
उनीहरूले भारत सरकारले पाकिस्तानी कार्यक्रम बहिष्कार गरेको भन्दै आगन्तुकलाई जान अवरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीले कार्यक्रममा आउने आगन्तुकको नाम, पेसा, काम गर्ने संगठन, दर्जा, फोन नम्बर मागेका थिए । केही अतिथिलाई शंकास्पद भन्दै तस्बिर खिचेका थिए । भारतीय प्रहरीको सो रबैयापछि केही आगन्तुक बीच बाटोबाटै फर्किएका थिए । परस्पर शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीचको सम्बन्ध यसै वर्षको सुरुमा बिग्रिएको थियो ।
२०७६ जेठ २१ गते मंगलवार १६:३२ बजे प्रकाशित